काठमाडौं– बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिको संलग्नताको विषयमा पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले अर्थ मन्त्रालयका २ जना सचिवलाई छलफलका लागि बोलाएको छ।
संसदीय विशेष समितिको बिहीबार बसेको बैठकले अर्थ मन्त्रालयका सचिव (अर्थ) मधु मरासिनी र राजश्व सचिव कृष्णहरि पुस्करलाई बोलाउने निर्णय गरेको हो। उनीहरुलाई शुक्रबारको बैठकमा बोलाउने निर्णय भएको हो।
पूर्वअर्थमन्त्री शर्मासँग सम्बन्धित विषयका कागज तथा विवरण नआएपछि समितिले सचिवहरुसँग छलफल गर्न लागेको हो।
समितिका सचिव सुरेन्द्र अर्यालले अर्थ मन्त्रालयबाट आवश्यक कागजहरु उपलव्ध नभएकाले ठोस अजेण्डामा छलफल हुन नसकेको बताए।
बुधबार बसेको समितिको बैठकले अर्थ मन्त्रालयबाट पूर्वअर्थमन्त्री शर्मासँग सम्बन्धित विषयका कागज तथा विवरण माग गरेपनि नआएको र बिहीबार कार्यलय सयमभित्र आउने अपेक्षा गरिएको सचिव अर्यालको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।