काठमाडौं– बलिउडका अभिनेता शाहरुख खानको आगामी फिल्म ‘जवान’मा दक्षिण भारतीय अभिनेता विजय थालापतीको प्रवेश भएको छ। मिडिया रिपोर्टकाअनुसार फिल्ममा विजय मुख्य खलनायकको भूमिकामा देखिनेछन्।
एटलीले निर्देशन गरिरहेको फिल्मका लागि विजयले बिना पैसा काम गर्न लागेका हुन्। विजयले फिल्ममा केमियो रोलमार्फत खलनायकको भूमिका निभाउने बताइए पनि उक्त रोल महत्वपूर्ण हुनेछ।
विजय र ‘जवान’का निर्देशक एटली पुराना साथी हुन्। दुवैले कैयौं फिल्ममा सँगै काम गरेका छन्, जसमध्ये मार्सल र थेरीजस्ता फिल्महरु बक्सअफिसमा निकै सफल पनि भएका थिए।
यहि कारण विजयले शाहरुखसँगै ‘जवान’मा काम गर्न पैसा नै नलिएको बताइएको छ। जवान’लाई भारतका पाँच भाषामा प्रदर्शन गर्नेगरी छायांकन भइरहेको छ।
एक्सन इन्टरटेनर फिल्म रहेको बताइएको यो फिल्म हिन्दीसँगै तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा प्रदर्शन हुनेछ। २ जुन २०२३ मा प्रदर्शन हुने भनिएको फिल्ममा विजय र शाहरुखसँगै नयनताराको पनि अभिनय रहने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।