काडमाडौं– नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संघीय र प्रदेश सभाको आशन्न निर्वाचनमा गठबन्धन आवश्यक भए कांग्रेसको स्वाभिमान र सम्मानजनक हैसियत पाउनुपर्ने दाबी गरेका छन्।
नेता केसीले केन्द्रीय समिति बैठकमा सभापतिलाई पेस गरेको लिखित धारणामा कांग्रेसले लिनुपर्ने बाटो र सभापतिले निर्वाचनपछि काम गर्न नसकेको आरोप पनि लगाइएको छ।
उनले बैठकमा ११ बुँदे लिखित पत्र पेस गर्दै उनले पार्टी, देशको अर्थतन्त्र र गठबन्धनबारे प्रश्न उठाएका छन्।
पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले यसका लागि स्पष्टतासहित निश्चित मापदण्ड, आचारसंहितासहित पार्टीको संस्थागत निर्णय हुनुपर्ने माग गरेका छन्।
‘पार्टी विधान र निर्णयको उपेक्षा गरेर उच्चस्तरीय संयन्त्रको नाममा निर्णय लादिनु हुन्न,’ उनले भने, ‘यी दुवै तहका संसदीय निर्वाचनमा कांग्रेसले बहुमतको लक्ष्य राख्नुपर्छ।’
गठबन्धनको औचित्य र कांग्रेसको निर्णायक हैसियत कायम राख्न पार्टीभित्र बृहत् एकेबद्धताका लागि उत्साही वातावरण बनाउनु जरुरी भएको उनको भनाइ थियो।
विशेष कार्यक्रम र रणनीति अभावको परिणाम जनताको आस्था डगमगाएको भन्दै उनले अहिले शिक्षा नलिने हो भने आगामी निर्वाचनहरूमा स्वतन्त्र उम्मेद्वारको संख्या र मतदाता थपिन सक्ने दाबी गरेका छन्।
जनताको निकट सम्पर्क र राज्यको अग्रपंक्तिमा रहेका स्थानीय तहको निर्वाचनमा कांग्रेसले सन्तोषजनक उपलब्धी हासिल गरेको भन्दै उनले अन्तरघातबाट मुक्त रहन नसकेकाले सचेत हुनुपर्ने अवस्था रहेको उल्लेख गरेका छन्।
‘यसका कारक पक्षलाई जरैदेखि समाप्त गर्न आवश्यक छ। यसका लागि पारदर्शी, विधिसंगत नीति निर्माण प्रक्रिया पहिलो सर्त हो,’ उनले राखेको प्रतिवेदनमा भनिएको छ, ‘तर कार्यशैलीमा गुणात्मक सुधारले मात्र परिमाणात्मक उपलब्धीको सार्थकता प्रमाणित हुन्छ।’
निर्वाचनमा पैसाको बोलवाला लगाम बाहिर जान थालेको उनको आरोप छ। यसले सबै पार्टी, लोकतन्त्र, विधिको शासनलाई खाइदिने उनको तर्क छ। उनले समय छँदै होस पुर्याउँदै निर्वाचन पद्धतिमाथि नै राष्ट्रिय बहसको आवश्यकता रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।