काठमाडौं– राष्ट्रिय सभाको बैठकमा प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाको आलोचना भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य विमला राई पौडेलले राष्ट्रिय सभा बैठकमा बोल्दै सभामुख सापकोटाको 'भूमिका'को आलोचना गरेकी हुन्।
राष्ट्रिय सभाबाट पठाइएको महत्वपूर्ण १२ वटा विधेयकहरु समेत प्रतिनिधि सभामा वर्षौंदेखि अड्काएर राखेको भन्दै सांसद राईले सभामुख सापकोटाको 'काम कारबाही' प्रति असन्तुष्टि व्यक्त गरेकी हुन्।
बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद राईले सभामुख सापकोटा वर्षौंदेखि थन्किएर बसेका विधेयकहरुलाई अघि बढाउनुको साटो मुद्दा मामिलामा लागेको आरोप लगाइन्।
उनले राष्ट्रिय सभाले पारित गरेर पठाएका विधेयकहरु विषयगत समितिहरुमा छलफल गराएर पारित गराउने काम सभामुखको भएपनि सापकोटा त्यसप्रति जिम्मेवार नभएको राईले गुनासो गरिन्।
उनले सत्तारुढ गठबन्धन अड्किएर बसेको विधेयकहरु पारित समेत नगराइ संसद् अधिवेशन अन्त्य गरेर संघ र प्रदेशको निर्वाचनमा जाने तयारीमा रहेको भन्दै आक्रोश समेत व्यक्त गरिन्।
‘अहिले हामीले राष्ट्रियसभाबाट पारित गरेर पठाएका करिब १२ वटा विधेयक प्रतिनिधि सभामा अड्किएको छ। ती १२ वटा विधेयक अत्यन्त महत्वपूर्ण छन्,’ उनले भनिन्, ‘ज्येष्ठ नागरिक ऐनको संशोधन छ। ईन्जिनियरिङ परिषद् विधेयक छ। मिडिया काउन्सिल विधेयक छ। काठमाडौं उपत्यका सार्वजनिक यातायातसम्बन्धी बिल छ। नीति अनुसन्धान प्रतिष्ठानसम्बन्धी बिल छ। २०७५ सालदेखि पठाइएका यी बिलहरु अहिलेसम्म पनि प्रतिनिधिसभाले हामीलाई पठाएको छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।