काठमाडौं– एमालेले हालै आफ्नो अर्थ तथा योजना विभागका सदस्यमा राखिएका 'एम अधिकारी' भन्ने व्यक्ति राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै भएको भन्दै विरोध भएका बेलामा एमाले र गभर्नर अधिकारीबीच पत्राचार भएको छ।
गभर्नर अधिकारीले असार २९ मा एमालेको केन्द्रीय कार्यालयलाई पत्र लेखेर 'सो विषयमा स्पष्ट पारी मलाई समेत जानकारी उपलब्ध गराई दिनु हुन अनुरोध गर्दछु' भनेका थिए। पत्रमा उनले सम्पूर्ण राजनीतिक दल र नेतृत्वको सम्मान गर्ने बताएका छन्। साथै, त्यस एमाले लगायत कुनै पनि राजनीतिक दलको सदस्य नरहेको पनि प्रष्ट पारेका छन्।
राजनीतिक पार्टीमा आवद्ध नरहेको तथा गभर्नर जस्तो जिम्मेवार पदमा रहेको व्यक्ति कुनै पार्टी विशेषको कुनै समितिमा रहने, बस्ने भन्ने कल्पना बाहिरको विषय हुँदाहुँदै यस प्रकारको भ्रम उक्त समिति गठनले सृजना गरेको भन्दै प्रष्ट पार्न उनले एमालेलाई पत्र लेखेका हुन्।
एमालेले पनि असार २९ मै गभर्नर अधिकारीलाई जवाफ फर्काएको छ। एमालेका कार्यालय सचिव डा भीष्म अधिकारीले 'उक्त विभागमा उल्लेखित एम. अधिकारी खोटाङ भनि उल्लेखित व्यक्ति तपाईं राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको व्यहोरा स्पष्ट गर्दछु' भनी जवाफ फर्काएका छन्।
'यस पार्टीको विधान बमोजिम केन्द्रीय विभाग गठन गर्दा अर्थ तथा योजना विभागमा उल्लेखित एम. अधिकारी खोटाङ नाम सदस्यको रुपमा उल्लेखित भएकोमा सामाजिक सञ्जाल, सञ्चार माध्यम समेतमा उक्त व्यक्ति नेपाल राष्ट्र बैंकको गभर्नर हो भनि भ्रम सिर्जना हुन गएकोमा हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ', जवाफी पत्रमा भनिएको छ, 'हाम्रो पार्टी र विभागहरुमा त्यस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरु रहने वैधानिक व्यवस्था छैन।'
महाप्रसाद अधिकारीलाई एमालेले २०७३ सालमा पनि अर्थ तथा योजना विभागमा राखेको थियो। त्यतिबेला पनि अधिकारीले आफू कुनै पनि राजनीतिक दलको सदस्य नरहेको र त्यस्तो सदस्यता लिने मनसाय समेत नभएको भन्दै नाम हटाइदिन अनुरोध गर्दै पत्र लेखेका थिए।
त्यतिबेला एमालेका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले अधिकारीलाई जवाफ फर्काउँदै भुलवश नाम पर्न गएको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।