काठमाडौं– नेपाल प्रहरीका ३६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)हरु प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएका छन्। विभिन्न तीनवटा मितिमा डीएसपी बनेका मध्येहरुबाट ३६ जनालाई बढुवा समितिले बुधबार एसपीका लागि सिफारिस गरेको छ।
२०७० साउन ६ गते, २०७१ मंसिर ५ गते र २०७१ फागुन ११ गते डीएसपी भएकाहरु मध्येबाट ३६ जनालाई एसपीका लागि सिफारिस गरिएको हो।
सिफारिस सूची अनुसार आफ्नो ब्याचका पहिलो नम्बरमा रहेकासमेत छुट्दा पुछारतिरका डीएसपीहरुले छलाङ मारेका छन्। नेताका पर्सनल सेक्युरेटी अफिसर (पीएसओ)हरु यो पटकको बढुवामा हावी भएका छन्।
२०७१ फागुन ११ गते इन्सपेक्टरबाट डीएसपीमा बढुवा हुँदा पहिलो नम्बरका अपिलराज बोहरा नै यो पटकको बढुवामा छुटेका छन्। तर बोहराकै ब्याचमा रहेका र डीएसपीमा बढुवा हुँदा २५ औं नम्बरमा रहेका कोमल शाह भने आफ्नो ब्याचको दोस्रो नम्बरमा बढुवा भएका छन्।
शाह प्रधानमन्त्री शेरबहादुर देउवाका पीएसओका रुपमा अहिले पनि कार्यरत छन्। यसअघि पनि देउवा प्रधानमन्त्री हुँदा शाह पीएसओ थिए। शाह भन्दाअघि उनको ब्याचबाट पहिलो नम्बरमा टेकुवानन्द लिम्बूको बढुवा भएको छ। तर लिम्बू २०५१ सालमै सेवा प्रवेश गरेकाले उनी अवकाशमा जाने बेला भइसकेको उनको ब्याचको पहिलो नम्बर शाह नै हुन्।
जसकारण शाह २५ नम्बरबाट अस्वभाविक छलाङ मार्दै अघि आएका छन्। अहिलेकै प्रहरी नियमावली संशोधन नभएको अवस्थामा शाहको ब्याचबाट एक जना आईजी बन्नेछन्। २५ औं नम्बरबाट छलाङ मार्दै आफ्नो ब्याचबाट पहिलो नम्बरमा बढुवा भएका शाह यही गतिमा बढुवा हुँदै गए भावि आईजीकोसमेत प्रवल दाबेदार देखिन्छन्।
आफ्नो ब्याचको चौथो नम्बरमा रहेका नरेशराज सुवेदी पनि एक स्थानमाथि उक्लेका छन्। कोमल शाहपछि सुवेदीकै नाम बढुवाको सूचीमा छ। सुवेदी पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पीएसओ बसिसकेका अधिकृत हुन्।
उता पहिलो नम्बरका बोहरामात्रै होइन उनकै ब्याचका दुई नम्बरमा रहेका गौतम कुमार केसी पनि बढुवाको सूचीमा अटाएनन्। उनी बढुवामा छुट्दा उनकै ब्याचका २४ नम्बरका गजुसिद्धी बज्रचार्य पनि बढुवामा परे। ३३ क्वीन्टल सुन तस्करी प्रकरणमा जेल परेर पछि निर्दोष भनेर छुटेका सञ्जय बहादुर राउत पनि बढुवा सूचीको १८ औं नम्बरमा छन्।
उनी अहिले बढुवा भएका तीन वटै ब्याचको पहिलो नम्बरमा थिए। आफ्नो ब्याचबाट चौथो नम्बरमा बढुवा सिफारिस भएका भरतबहादुर विक कांग्रेस नेता मीन विश्वकर्माको निकट मानिन्छन्। उनी यथावत स्थानमै बढुवा भए। आफ्नो ब्याचको १४ औं नम्बरमा रहेका सुधीरराज शाही आफ्नो ब्याचको ४ नम्बरमा बढुवा सिफारिसमा परे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।