काठमाडौं- सरकारी कर्मचारीलाई कुटपिट गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।
‘सुन मान्छे’ का रुपमा चिनिएका सुवास घिसिङलाई प्रहरीले पक्राउ गरेको हो। धनकुटाको पाख्रिवास घर भइ हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ का ४८ वर्षीय घिसिङलाई प्रहरी बिट नयाँ बस्तीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
२७ गते गोकर्णेश्वर नगरपालिका वडा नं. ६ नयाँबस्ती एभरेष्ट पम्पसँगै रहेको ड्रिम हाउस नजिकै बागमती सभ्यता एकीकृत विकास समिति गुहेश्वरी फाँटका कर्मचारी बलराम श्रेष्ठलाई अनुगमनका क्रममा ठेकेदार घिसिङले फोहोरको विषयलाई लिएर बिबाद गरी एक्कासी बलराम श्रेष्ठलाई टाउकोमा मुक्का प्रहार गरी घाइते बनाएको सूचना प्राप्त भएसँगै प्रहरी घटनास्थल पुगेको थियो।
घिसिङ (सुन मुन्द्रे) लाई मुलुकी अपराध (सहिंता) ऐन, २०७४ को परिच्छेद-१२ को देहाय १८३ को ‘ज्यान मार्ने उद्योग गर्न नहुने’ कसुरमा काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिई प्रहरी बृत्त, बौद्धबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।