काठमाडौं– लण्डनमा कार्यक्रम गर्ने भन्दै पारिश्रमिक लिएर कार्यक्रममा नगरेको आरोपमा सांगीतिक समूह ‘नाइन्टी सेभेन्टी फोर एडी (१९७४ एडी)’ विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा परेको छ। १९७४ एडी र समूहका प्रबन्धक सञ्जय श्रेष्ठविरुद्ध तीन लाख रुपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरिएको हो ।
सांगीतिक समूहले लण्डनमा २ घण्टासम्मको सांगीतिक कार्यक्रम गर्न कलाकार व्यवस्थापन तथा प्रदर्शन १९७४ एडीले गर्ने भन्दै आयोजक एचएबीअ मुभेन्ट लिमिटेडबीच सम्झौता भएको थियो।
गत चैतमा भएको उक्त सम्झौताकाअनुसार १९७४ एडीले १५ लाख रुपैयाँ पारिश्रमिकको रुपमा पाउने भनिएको थियो, जसको १० प्रतिशत रकम उनीहरुले पाइसकेका छन्।
तर, कार्यक्रमको विषयलाई लिएर सांगीतिक समूहले कुनै चासो नदेखाएको र ताकेता गर्दा पनि असार १० गते कार्यक्रम गर्न नआउने र पैसा पनि फिर्ता नगर्ने भनेपछि मुद्दा दर्ता गरिएको बताइएको छ।
मुद्दा हाल्ने एचएबीअ मुभेन्ट लिमिटेडले आफूले १९७४ एडीलाई कार्यक्रम गर्नका लागि दिएको अग्रिम भुक्तानी डेढ लाख रुपैयाँसहित क्षतिपूर्तिका रुपमा तीन लाख माग गर्दै मुद्दा हालेको छ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।