काठमाडौं– विवाद उत्कर्षमा पुगेका बेला जनता समाजवादी पार्टीका छुट्टाछुट्टै बैठक बस्ने भएका छन्।
संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले मंगलबारदेखि काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक सुरु गर्दा अध्यक्ष उपेन्द्र यादव पक्षको छुट्टै बैठक बुधबार वीरगञ्जमा सुरु हुँदैछ।
बैठकका लागि अध्यक्ष यादवसहितका नेताहरू मंगलबार नै वीरगञ्ज पुगिसकेका छन् भने देशका विभिन्न क्षेत्रबाट नेता/कार्यकर्ता पुग्ने क्रम जारी छ। यता, भट्टाराई पक्षको बैठक बुधबार पनि जारी रहनेछ।
मधेस क्षेत्रबाटै उदाएको भए पनि उपेन्द्र यादव नेतृत्वको पार्टीले आफ्नो राजनीतिक गतिविधिलाई काठमाडौंमै केन्द्रित गर्दै आएको थियो।
त्यसैले पार्टीका बैठक र आन्तरिक संघर्ष पनि काठमाडौंकै भूमिमा भएको थियो। तर, यसपटक भने पार्टीले मधेस ‘सम्झिएको’ छ।
पार्टी विभाजनको मुखमा मधेस क्षेत्रमै बैठक राख्दा बैठकस्थलकै कारण पनि यादवले भावनात्मक लाभ पाउने सम्भावना रहन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।