काठमाडौं- एनआईसी एसिया बैंकले नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने ‘नगद रिसाक्लर’ सेवाको शुभारम्भ गरेको छ। सेवा सुरुवात भएसँगै बैंकका ग्राहकहरूले सहजरूपमा बैंकमा रहेको आफ्नो खातामा नगद रकम जम्मा गर्न सक्ने बैैंकले जनाएको छ।
ग्राहकहरूले बैंकमा गई कुनै भौतिक फारमबिना केवल आफ्नो डेबिट कार्ड वा खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने व्यवस्था रहेको बैंकले उल्लेख गरेको छ।
यस मेसिनबाट एक हजार र पाँच सय दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेको छ।
एक जनाले दैनिक अधिकतम् ९९ हजार पाँच रुपैयाँसम्म नगद जम्मा गर्न सकिने सीमा रहेको बैंकले जनाएको छ।
बैंकको नयाँ सेवाबाट नगद जम्मा गर्नका लागि ग्राहकले ‘नगद रिसाक्लर’ मेसिनमा डेबिट कार्ड राखेर एटीएम पिन कोड राखेपछि वा खाता नम्बर उल्लेख गरेपछि मेसिनमा रहेको रकम जम्मा गर्ने बक्स खुल्नेछ।
उक्त बक्समा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल सहजरूपमा मौज्दात गरिदिने र त्यसको जानकारीसमेत एसएमएस तथा रिसिप्टमार्फत प्राप्त हुने व्यवस्था बैंकले गरेको जनाएको छ।
बैंकले यो सेवा हालका लागि आफ्नो कर्पोरेट अफिस शाखा, थापाथलीमा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशका अन्य शाखाहरूमा समेत विस्तार गर्ने योेजना रहेको बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।