काठमाडौं– प्रतिनिधि सभाको बैठक आज बिहीबार पनि बस्ने भएको छ। बैठक दिउँसो २ बजेका लागि बोलाइएको संघीय संसद् सचिवालयले जनाएको छ।
बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/२०७८’ पेस गर्ने सम्भावित कार्यसूची छ। यस्तै, गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
सभामुख अग्निप्रसाद सापकोटाले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ सम्बन्धी समितिको प्रतिवेदन र विधेयकका दफाहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव डा भरतराज गौतमले बताएका छन्।
गृहमन्त्री बालकृष्ण खाँणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने छन् भने खानेपानी मन्त्री उमाकान्त चौधरीले ‘विकास तथा प्रविधि समितिको प्रतिवेदनसहितको खानेपानी तथा सरसफाइ विधेयक, २०७५ छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेछन्। मन्त्री चौधरीले ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ छलफल र पारितका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संसद्का महासचिव गौतमले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।