काठमाडौं– अछामको पञ्चदेवल विनायक–४ का १५ वर्षीय विनोद शाहीको 'मुत्यु'लाई लिएर बनेको तानवग्रस्त स्थितिलाई नियन्त्रणमा लिन अछाम प्रहरीले हवाई फायर गरेको छ। अहिलेसम्म तीन राउण्ड हवाई फायर गरिएको छ भने २४ सेल अश्रु ग्यास प्रहार भएको छ।
सोमबार अछाम सदरमुकाम मंगलसेनमा प्रदर्शनकारीले राजमार्ग नै बन्द गरेर अवरोध सिर्जना गरेपछि स्थिति तनावग्रस्त भएको थियो। सो क्रममा २ प्रहरी निरीक्षकसहित १२ जना प्रहरी घाइते समेत भएका छन्। प्रदर्शनकारीले प्रहार गरेको ढुंगामुढाबाट उनीहरुलाई चोट लागेको अछामका प्रहरी प्रमुख तथा डीएसपी नारायण डाँगीले जानकारी दिए।
प्रदर्शनकारीहरुले जिल्ला अदालत र सरकारी वकिल कार्यालय परिसरमा ढुंगामुढा समेत प्रहार गरेका थिए। प्रहरीले राजमार्गको अवरोध भने खुलाइसकेको छ। जिल्लाका विभिन्न ठाउँबाट सदरमुकाम मंगलसेन आएर महिला, बालकालिका समेत प्रदर्शनमा उत्रिएका छन्।
यसैबीच, आइतबार शाहीको मृत्यु घटनामा अनुसन्धानका लागि प्रहरीलाई सहयोग गर्ने भन्दै आरोपित पञ्चदेवल नगरपालिकाकी मेयर अम्बिका चलाउने प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन्। उनीविरुद्ध किटानी जाहेरी परेपछि पक्राउ पूर्जी जारी भएको थियो। मेयरसहित अहिलेसम्म ६ जना आरोपी पक्राउ परिसकेका छन्। घटनाका विषयमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ। अनुसन्धानलाई प्रभावित पार्नेखालका कुनै पनि गतिविधि नगर्न प्रहरीले अनुरोध गरेको छ।
जेठ १७ गतेदेखि वेपत्ता शाहीको शव गाउँकै भिरमा जेठ २१ गते भेटिएको थियो। शाहीको हत्या भएको भन्दै आफन्तले सत्यतथ्य अनुसन्धान गरी दोषीमाथि कारबाहीको माग गरेका छन्। शाहीको शव घटनाको पाँच दिनपछि उठाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।