काठमाडौं– अछामको पञ्चदेवल विनायक–४ का १५ वर्षीय विनोद शाहीको मुत्युलाई लिएर भएको प्रदर्शनमा १२ प्रहरी घाइते भएका छन्। सोमबार अछाम सदरमुकाम मंगलसेनमा प्रदर्शनकारीसँगको झडपमा उनीहरु घाइते भएका हुन्।
प्रदर्शनकारीहरुले जिल्ला अदालत र सरकारी वकिल कार्यालय परिसरमा ढुंगामुढा गरेका थिए। सो क्रममा १२ जना प्रहरी घाइते भएको अछामका डीएसपी नारायण डाँगीले नेपाल लाइभलाई जानकारी दिए। घाइते हुनेहरुमा २ जना प्रहरी निरीक्षक पनि छन्। स्थिती नियन्त्रणमा लिन प्रहरीले १२ सेल अश्रुग्यास समेत प्रहार गरेको छ।
अहिले अवस्थामा सामान्य बन्दै गएको छ। राजमार्गको अवरोध प्रहरीले खुलाइसकेको छ। जिल्लाका विभिन्न ठाउँबाट सदरमुकाम मंगलसेन आएर महिला, बालकालिकासहित प्रदर्शनमा उत्रिएका छन्।
शाहीको मृत्यु घटनामा अनुसन्धानका लागि प्रहरीलाई सहयोग गर्ने भन्दै आरोपित पञ्चदेवल नगरपालिकाकी मेयर अम्बिका चलाउने आइतबार प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन्। उनीविरुद्ध किटानी जाहेरी परेपछि पक्राउ पूर्जी जारी भएको थियो। मेयरसहित अहिलेसम्म ६ जना आरोपी पक्राउ परिसकेका छन्।
जेठ १७ गतेदेखि वेपत्ता शाहीको शव गाउँकै भिरमा जेठ २१ गते भेटिएको थियो। शाहीको हत्या भएको भन्दै आफन्तले सत्यतथ्य अनुसन्धान गरी दोषीमाथि कारबाहीको माग गरेका छन्। शाहीको शव घटनाको पाँच दिनपछि उठाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।