काठमाडौं-बलिउड अभिनेता तथा 'बिग बोस ३' का विजेता विन्दु दारा सिंह नेपाल आइपुगेका छन्। केही दिनको घुमघामका लागि उनी नेपाल आइपुगेका हुन्।
चर्चित सिरियल 'जय हनुमान'मा हनुमानको भूमिका निर्वाह गरेका उनी नेपालको धार्मिक स्थल पशुपतिनाथको दर्शनका साथै विभिन्न पर्यटकीय स्थल घुम्नेछन्। उनको नेपाल भ्रमण पहिलोपटक भने होइन। आफू नेपालमा पटक-पटक आउने गरेको उनले बताए। नेपाल लाइभसँग उनले भने, 'मलाई नेपाल मनपर्छ। यहाँ मेरा धेरै साथीहरु छन्।
शनिबार बेलुकी राजधानीको एक होटेलमा भेटिएका उनले आफ्ना धेरै साथी नेपाली पनि रहेकाले आउने जाने क्रम चलिरहेको बताए। उनका नेपाली साथी व्यवसायी पोष्टराज ज्ञवालीले विन्दु नेपालप्रेमी रहेको बताए। 'नेपालका धेरै पर्यटकीय ठाउँमा उहाँ पुग्नुभएको छ। यसपल्ट काठमाडौं र वरपरका क्षेत्रमा उहाँ घुम्नुहुनेछ,' ज्ञवालीले भने।
विन्दुले 'मुझ से सादी करोगी', 'हाउसफूल १ र २' 'करन', 'आशिक दिवाना', 'सन अफ सर्दार'लगायत २२ भन्दा हिन्दी फिल्ममा अभिनय गरेका छन्। त्यत्तिकै मात्रामा टेलिभिजन सिरियल र रियालिटी शोमा समेत उपस्थिति जनाएका छन्। उनी चर्चित भारतीय रेस्लर, अभिनेता तथा फिल्म निर्देशक दारा सिंहका छोरा हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।