काठमाडौं- आठ वर्षअघि अमेरिका प्रवेश गरेकी अभिनेत्री अरुणिमा लम्साल केही समयअघि नेपाल आइन्। नेपाल आएर फिल्म क्षेत्रका कलाकारसँगको भेटघाटमा व्यस्त उनले सामाजिक सञ्जालमार्फत् तस्बिरहरू सार्वजनिक गरिरहेकी छिन्।
५० भन्दा धेरै फिल्ममा अभिनय गरेकी अरुणिमा नेपालबाट बाहिरिएपछि भने कलाकारिता क्षेत्रबाट पनि निकै टाढा बनेकी थिइन्। हाल नेपाल फर्किएकी उनले कलाकारिता क्षेत्रका व्यक्तित्वसँग भेटघाट गरे पनि सीमित समयका लागि नेपाल आएको भएकाले पर्दामा देखिने काम गर्छिन् वा गर्दिनन् भन्ने टुंगो छैन।
कलाकारिता गर्दागर्दै अमेरिका भासिनेमा अरुणिमा एक्ली होइनन्। नेपाली कलाकारिता क्षेत्रमा थुप्रै कलाकार छन्, जो आफ्नो समयमा पाएको सफलता र स्टारडम सबै छाडेर विदेशिएका छन्। अमेरिका नेपाली कलाकारको मुख्य गन्तव्यजस्तै रहेको देखिन्छ।
‘नाई नभन्नु ल’, ‘नोटबुक’जस्ता चर्चित र सफल फिल्म खेलेका जीवन लुँइटेल यस्तै कलाकारमध्ये एक हुन्। उनी आफ्नो समयमा निकै चर्चित थिए। तर, २०७२ ताका उनी विदेशिए। अमेरिकामा बसोबास गर्न थालेका उनले फिल्म क्षेत्रसँगको सम्बन्धलाई ब्रेक लगाए। कहिलेकाहीँ केही म्युजिक भिडियोमा देखा परेका उनको उपस्थिति हाल पर्दामा शून्यजस्तै भएको छ।
नेपालमा सफल करिअर भएर पनि अमेरिका भासिएका अर्का कलाकार हुन्, राजवल्लभ कोइराला। ‘ऋतु’, ‘हाँसिदेउ एक फेर’, ‘अपवाद’जस्ता सफल फिल्ममा काम गरेका कोइराला पनि ७० को दशकपछि पर्दामा देखिन छाडे।
‘हाइ वे टु धम्पुस’ नामक फिल्मको छायांकनका लागि अमेरिका पुगेका उनी हाल उतै बसोबास गरिरहेका छन्। लामो अवधिसम्म सिनेमाको पर्दामा नदेखिएका उनी कहिलेकाहीँ उतै छायांकन भएका म्युजिक भिडियोमा भने देखिन्छन्।
‘चपली हाइट’ फेम्ड अभिनेत्री बिनिता बराल पनि अमेरिकामै बसोबास गरिरहेकी छिन्। ‘सुपरहिट’, ‘उमंग’, ‘फुटस्टप’जस्ता फिल्ममा काम गरेकी उनले ‘चपली हाइट’बाट निकै राम्रो चर्चा कमाएकी थिइन्। तर, कालान्तरमा उनको बसाइँ पनि अमेरिका नै भयाे। हाल अमेरिकामै आफ्ना श्रीमान तिलक पौडेल र एक छोरीका साथमा बसिरेकी बिनिता पर्दामा नदेखिएको लामो समय भयो। केही वर्षअघि भने बिनिताको लेखक अवतार पनि प्रस्तुत भएको थियो। उनले ‘जुइनो’ नामक पुस्तक प्रकाशनमा ल्याएकी थिइन। तर, बिनिताको प्रमिसिङ करिअरको रुपमा देखिएको अभिनय यात्रा भने हाल पूर्णविराम लागेको अवस्था छ।
यीसँगै कलाकारिता क्षेत्रमा नेपालमा आफ्नो राम्रो करिअर हुँदाहुँदै पनि अमेरिका पलायन भएका अन्य कलाकारहरुमा युना उप्रेती, ऋचा घिमिरे, नन्दिता केसी, सुमन सिंह लगायत छन्।
नेपालमा फिल्म क्षेत्रमा आफ्नो करिअरलाई सफलताउन्मुख बनाइरहेका यी तथा अन्य कलाकारहरुले बीचमै आफ्नो करिअर छाडेर अमेरिकालाई रोजे। धेरैले फिल्म क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध स्थापित नै राखिरहने बताउँछन्। तर, कालान्तरमा उनीहरू पर्दाभन्दा निकै टाढा पुगिकसेका हुन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।