काठमाडौं– बलिउड अभिनेता शाहरुख खानको बहुप्रतिक्षित फिल्म ‘जवान’को डिजिटल राइट्स बिक्री भएको छ। फिल्मको डिजिटल राइट्स भिडियो प्रसारणको माध्यम नेटफ्लिक्सले १२० करोड भारतीय रुपैयाँमा किनेको छ।
‘जवान’ सिनेमा हलमा रिलिज भएको केही समयपछि नेटफ्लिक्समा प्रदर्शनमा आउनेछ। केही दिनअघि पोस्टर तथा टिजर सार्वजनिक भएको उक्त फिल्म नेटफ्लिक्समा प्रदर्शन हुने घोषणा भएसँगै यसको चर्चा थप चुलिएको छ।
यसबीच शाहरुखले आफ्नो फिल्मका बारेमा बोल्दै यसमा काम गर्दा निकै रमाइलो भएको बताएका छन्। उनले केही दिनअघि सामाजिक सञ्जालमार्फत् आफ्ना प्रशंसकसँग गरेको कुराकानीमा भनेका थिए, ‘फिल्मको बारेमा अहिले नै केही भन्नु हतार हुन्छ। तर, म एक कलाकार भएको नाताले यसमा काम गरिरहँदा निकै मजा भइरहेको छ।’
खानको यो फिल्म निकै महंगो मूल्यमा डिटिजल प्लेटफर्मका लागि बिक्री भएका फिल्महरुमध्येमा पर्छ। सिनेमा हलमा २०२३ जुन २ मा प्रदर्शनमा आउने भनिएको फिल्म त्यसको केही समयपछि नेटफ्लिक्समा प्रदर्शन हुने बताइएको छ। फिल्म हिन्दी, तमिल, मलयालम, तेलुगु र कन्नडसहित पाँच भाषामा प्रदर्शन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।