काठमाडौं– आज असार १५ गते। नेपालको कृषि संस्कृतिसँग जोडिएको दिनलाई सरकारले ‘धान दिवस’ को घोषणा गरेपछि असार १५ लाई दहीच्युरा खाने ‘पर्व’को रुपमा पनि लिइन्छ।
२०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो।
कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन्।
कृषि प्रधान देश नेपालमा प्रमुख खाद्यान्न धान बाली धानको उत्पादनमा हुने घटबढले अर्थतन्त्रमा समेत प्रभाव पार्ने भएकाले रोपाइँलाई ठूलो महत्त्व दिइन्छ।
सामान्यत: असारको पहिलो सातादेखि मनसुन सुरु भएपछि असार १५ सम्म खेत गह्रामा लाठे (बाउसे) र रोपारहरू असारे गीतको भाकासँगै रोपाइँमा व्यस्त हुन्छन्। असार १५ सम्म लाठे र बाउसेहरूलाई आली जोर्ने र मेलो बनाउन चटारो हुन्छ भने मेलामा झरेका रोपारहरू कोही ब्याडमा बीउ काट्ने, कोही पखाल्ने र कोही मेलो पैट्याउने तर्खरमा जुटेका हुन्छन्।
देशमा कूल धान खेतीको करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिंचाइ सुविधा उपलब्ध भएकाले बाँकी क्षेत्र मनसुन मै भर पर्नुपर्ने स्थिति छ।
मानो रोपेर मुरी फलाउने यो समयमा कृषकहरू आफ्ना अन्य काम छाडेर भए पनि असारे भेल छोपी धानबाली लगाउन व्यस्त हुन्छन्। असार महिनाभित्रै रोपाइँ गर्न नपाइएमा धान पाक्ने सम्भावना कम हुना अवस्था भएकाले पनि रोपाइँमा व्यस्त हुनुपर्छ।
यसपटक नेपाल लाइभले काठमाडौंको टोखाका किसानहरुको रोपाइँ चटारोलाई क्यामेरामा कैद गरेको छ। रोपाइँमा व्यस्त किसानका तस्बिरहरु:









नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।