काठमाडौं– भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको जीवनमाथि आधारित रहेर एक बायोपिक बन्ने भएको छ।
उक्त फिल्मको नाम ‘मै रहुँ या न रहूँ ये देश रहना चाहिए–अटल’ राखिएको छ। मंगलबार भारतीय फिल्म विश्लेषक तरण आदर्शले यसबारेमा जानकारी दिँदै सामाजिक सञ्जालमार्फत् फिल्मको घोषणा भएको बताएका छन्।
फिल्म बाजपेयीको आगामी जयन्तीका दिन प्रदर्शन हुनेछ। आगामी वर्षको डिसेम्बर २५ मा प्रदर्शन गर्ने तयारीसहित फिल्मको काम सुरु गरिएको बताइएको छ।
मंगलबार सार्वजनिक भएको फिल्मको मोसन पोस्टरमा बाजपेयीले गरेको भाषणको अंशलाई समेटिएको छ। उक्त भाषणमा उनले भनेका छन्, ‘सत्ताको खेल त चल्नेछ, सरकार आउने र जाने हुनेछ, पार्टी बन्ने र फुट्ने हुनेछ। तर, यो देश बच्नुपर्छ। यो देशको लोकतन्त्र अमर रहनुपर्छ।’
फिल्मलाई दुई भाषामा रिलिज गर्ने तयारीसहित निर्माण गरिनेछ। बाजपेयीले लेखेको आफ्नो आत्मकथा ‘द अनटोल्ड बाजपेयी’माथि आधारित रहने यो फिल्मलाई हिन्दी र अंग्रेजीमा रिलिज गरिनेछ।
फिल्मलाई विनोद भानुशाली र सन्दिप सिंहले निर्माण गरेका छन्। फिल्मको सम्पूर्ण तयारी पूरा भएको बताइएपनि हालसम्म कुन भूमिकामा कसको अभिनय हुने भन्नेबारेमा भने सार्वजनिक गरिएको छैन।
भारतका पूर्वप्रधानमन्त्री बाजपेयीको २०१८ मा निधन भएको थियो। ९३ वर्षको उमेरमा निधन भएका उनलाई भारतीय राजनीतिमै प्रखर वक्ता मानिन्छ। उनी तीन पटकसम्म भारतको प्रधानमन्त्री भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।