काठमाडौं– नेकपा एकीकृत समाजवादीले मन्त्रिपरिषद्बाट फिर्ता बोलाएपछि सहरी विकासमन्त्री रामकुमारी झाँकीले ट्विट गर्दै फिलिपिन्सको एक पार्टीको नाम लिइन्– द ग्याब्रिएला वुमन्स पार्टी। एकीकृत समाजवादीले आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँ सिफारिस गरेका सबै पुरुष भएको सन्दर्भमा उनले यस्तो ट्विट गरेकी थिइन्।
झाँक्रीले उल्लेख गरेको द ग्याब्रिएला वुमन्स पार्टी अर्थात् ग्याब्रिएला फिलिपिन्समा महिलाको मुद्दा उठाइरहेको पार्टी हो। सन् १९८४ मा स्थापना भएको यो संगठनले २००३ बाट पार्टी निर्माण थालेर चुनावी अभियानमा लागेको थियो। राष्ट्रिय लोकतन्त्र, समाजवादी नारीवाद, मार्क्सवादी नारीवाद तथा प्रगतिशीलताजस्ता सिद्धान्तमा आधारित रहेको यो पार्टी वामपन्थी हो।
के हो ग्याब्रिएला?
यो पार्टीले आफ्नो आधिकारिक वेबसाइटमा लेखेको छ, ‘ग्याब्रिएला वुमन्स पार्टी एउटा क्षेत्रीय पार्टी हो, जसले सहभागिता नपाएका र अल्पसंख्यक महिलाहरूको हकअधिकारलाई मतदानको माध्यम र सरकारका निकायहरूमार्फत प्रस्तुत गरिरहेको छ।’
सन् १९८४ मा संगठनको रूपमा ग्याब्रिएला स्थापना हुँदा फिलिपिन्सको राजधानी शहर मनिलामा १० हजार महिलाले एकसाथ प्रदर्शन गरेका थिए। फिलिपिन्सका तानाशाह फर्डिनान्द मार्कोसको आदेशको अवहेलना गर्दै उनीहरूले महिला हक र अधिकारको पक्षमा आन्दोलन गरेका थिए। मार्कोसले त्यो बेला कुनै पनि किसिमको प्रदर्शन गर्न रोक लगाउने आदेश दिएका थिए।
फिलिपिन्समा हुने आन्दोलनमा महिलाको सहभागिता त्यो संख्यामा हुनु ‘अभूतपूर्व’ थियो। ग्याब्रिएलाले गरेको यो आन्दोलनबाटै पार्टीले शक्ति हासिल गर्न थालेको थियो।
यो संगठनको नाम फिलिपिनी क्रान्तिकारी महिला ग्याब्रिएला सिलाङको सम्मानमा राखिएको थियो, जसले सन् १७६३ मा स्पेनविरुद्ध विद्रोह गरेकी थिइन्। आफ्नो श्रीमानको हत्या भएपछि उनी आन्दोलित भएकी थिइन्। जसकारण उनलाई तत्कालीन स्पेनको शासनकालमा पक्राउसमेत गरिएको थियो। फिलिपिन्समा उनीसँगै अन्यले चालेको विद्रोहको सुरुवाती कदमकै परिणामको रुपमा सन् १८९८ मा भएको फिलिपिनी क्रान्तीलाई लिने गरिन्छ, जसले स्पेनलाई फिलिपिन्सबाट खेदाउन सफल भएको थियो।
संगठनको रुपमा रहँदा ग्याब्रिएलाले राष्ट्रिय स्वतन्त्रता, महिला सहभागिता र गरिबीबाट उन्मुक्ति जस्ता विषय उठाइरहेको थियो। पितृसत्ताविरुद्धको वकालतदेखि नवउपनिवेशवादको विपक्षमा यसको विचार प्रकट हुन्थ्यो। ‘थर्ड वल्र्ड फेमिनिजम’को विचारमा रहेर उक्त संगठनले सामाजिक रुपान्तरणको विषयलाई उठाउँथ्यो। ‘थर्ड वर्ल्ड फेमिनिजम’ वा ‘पोष्ट कोलोनियल फेमिनिजम’को विकास भने पश्चिमा देशहरूको उपनिवेशमा रहेका राष्ट्रहरूमा गैर–पश्चिमा र गोराबाहेकका महिलाहरूहरूले भोगेको विभेदको विपक्षमा सुरु भएको थियो।
ग्याब्रिएलाले सन् २००३ मा पार्टीको रुप लिँदा पहिला संगठनको सदस्य भएका नै पार्टी सदस्य भएका थिए। सन् २००४ को निर्वाचनमा पाटीले साढे ४ लाखभन्दा धेरै मत ल्याएको थियो। त्यहाँको प्रतिनिधिसभामा भने उनीहरूले १ सिट मात्रै जितेका थिए। ग्याब्रिएला वुमन्स पार्टीका तर्फबाट पहिलो पटक संसदमा लिजा माजा उपस्थित भएकी थिइन्।
त्यस्तै, सन् २००७, २०१०, २०१३ र २०१६ का हरेक निर्वाचनमा यो पार्टीले २–२ सिट जितेको थियो। सन् २०१९ र २०२२ को निर्वाचनमा भने उक्त पार्टीले १–१ सिट हात पारेको छ।
ग्याब्रिएलाले संसदमा उपस्थिति उल्लेख्य रुपमा देखाउन नसके पनि सामाजिक रुपमा भने निकै शक्तिशाली प्रभाव छाडेको छ। फिलिपिन्समा ‘वान बिलियन राइजिङ’ नामक अभियान सुरु गरेर यसलाई विश्वभर फैलाउने श्रेय उक्त पार्टीलाई नै जान्छ। सन् २०१३ मा यो अभियान सुरुवात भएको थियो। महिलामाथि हुने हिंसा र बलात्कारविरुद्ध उक्त अभियानले काम गरिरहेको छ।
मानव बेचबिखनको विषयमा पनि ग्याब्रिएलाले निरन्तर काम गरिरहेको छ। फिलिपिन्सबाट बेचिने महिला तथा युवतीहरूको उद्धार र पुनः स्थापनाको विषयमा यसले काम गरिरहेको छ। सन् १९९९ मा सुरुवात भएको ग्याब्रिएलाकै ‘पर्पल रोज क्याम्पेन’ले फिलिपिन्समा यौनजन्य क्रियाकलापका लागि हुने महिलामाथिको हिंसा र बेचबिखनमा पनि काम गरिरहेको छ।
के नेपालमा सम्भव छ महिलाहरूको पार्टी?
विश्वका धेरै देशमा फिलिपिन्समा जस्तै महिलाको मात्र राजनीतिक पार्टीहरू छन्। ती देशका दलले महिला मुद्दालाई संसद् र सडकमा उठाउन संघर्ष गरिरहेका छन्। पाकिस्तानमा ‘पाकिस्तान वुमन मुस्लिम लिग’, भारतमा ‘वुमनिस्ट पार्टी अफ इण्डिया’, ‘युनाइडेट वुमन फ्रन्ट’, अर्जेन्टिनामा ‘फिमेल पेरोनिष्ट पार्टी’, क्यानडामा ‘फेमिनिष्ट पार्टी अफ क्यानडा’ लगायत महिला केन्द्रित पार्टीहरू छन्।
नेपालमा पनि महिलाको मुद्दा उठाउने र राजनीतिमा महिला सहभागितालाई बढाउने महिलाकै राजनीतिक पार्टी खोल्नुपर्ने मुद्दा पहिल्यैदेखि उठेको हो। नेपाली कांग्रेसकी नेतृ तथा सांसद पुष्पा भुषाल यो विषय पुरानो भएको बताउँछिन्। उनी भन्छिन्, ‘नेपालमा पनि महिलाको पार्टी खोल्नुपर्छ भन्ने मुद्दा पुरानै हो। तर, व्यावहारिकतामा पनि हेर्नुपर्छ। पहिला त आन्तरिक रुपमा नै संघर्ष गर्नुपर्छ।’
भुषाल पहिला आफू संलग्न पार्टीमा नै महिलाका मुद्दालाई लिएर हस्तक्षेपकारी संघर्ष गर्नुपर्ने बताउँछिन्। उनी भन्छिन्, ‘अहिले ३३ प्रतिशत सहभागिता कानुनले नै दिएको छ। हामीले आन्तरिक रुपमै संघर्ष गरेर यसलाई आधा बनाउनुपर्छ। सहभागिताको कुरा, सम्बन्धित निकायमा मुद्दा पुर्याउने कुरा र सम्बोधन हुने कुरा कानुन निर्माण गरेर हुनुपर्छ।’
महिला पार्टीको आवश्यकता हुनु र निर्माण गरिनुभन्दा पहिले आफ्नो अधिकारका लागि भएकै पार्टीमा महिला नेतृहरूले संघर्ष गर्नुपर्ने उनी बताउँछिन्। भुषाल भन्छिन्, ‘पहिला भएका पार्टीहरूमा संघर्ष गरेर आफ्नो अधिकार र सहभागिता बनाउने हो। आफ्ना मुद्दाहरू निकायमा पुर्याउन कानुन निर्माण गर्ने हो। त्यसो गर्दा पनि भएन भने पार्टी स्थापना गरेर गर्नुपर्ने काम गर्न सकिन्छ। तर, सहभागिताका लागि लडाइँ आवश्यक छ। संघर्ष गरेरै आफ्नो अधिकार पाउनुपर्छ।’
नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्मा नेपालमा महिला पार्टीको आवश्यकता नभएको बताउँछिन्। समाजमा रहेको पितृसत्ताको अर्थमा रामकुमारी झाँक्रीले महिला पार्टीको आवश्यकता भएको बताएको उनको तर्क छ। उनी भन्छिन्, ‘पितृसत्ता पुरुषमा मात्रै हुन्छ भन्ने छैन, महिलामा पनि छ। दल जातीय, वर्गीयभन्दा पनि समग्र मतमा हुन्छ। यसरी महिलाले महिला पार्टी, मधेशले मधेश पार्टी र थारुले थारु पार्टी खोल्न थाल्यो भने हाम्रो गन्तव्य कहाँ होला?’
उनी नेपालमा यस्तो किसिमको पार्टी खोल्न सम्भव पनि नभएको बताउँछिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।