काठमाडौं– खेलकुदमा नतिजा मात्र होइन, कुनै क्षण पनि कहिलेकाहीँ जीवनभर बिर्सन नसक्ने भइदिन्छ। ती क्षणलाई समर्थकले समेत सम्झिरहेका हुन्छन्। जसले त्यस्ता क्षण देख्न पाएनन्, उनीहरूका लागि उपयोगी हुनसक्छ खेलकुद संग्रहालय।
धेरैलाई थाहा नहुन सक्छ, खेलाडीको भावना र इतिहाससँग जोडिएको सम्मान तथा पुरस्कार राखिने संग्रहालय नेपालमा पनि छ। सातदोबाटोस्थित नेपाल ओलम्पिक संघको हाताभित्र रहेको नेपाल ओलम्पिक संग्रहालयमा यस्ता मूल्यवान् सामग्री राखिएका छन्।
२३ वर्ष पुरानो यो संग्रहालयमा विभिन्न समयमा खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिँदा तथा पुरस्कार तथा सम्मान लिँदा खिचिएका सात लाख ५० हजार तस्बिर छन्। त्यति मात्र नभइ, सन् १९४० को विष्णु ट्रफी, सन् १९८३ मा एन्फाले आयोजना गरेको महिला फुटबल कपको ट्रफी, सन् १९८१/८२ को मदन मेमोरियल शिल्ड,नेपालकी प्रथम साइकलिस्ट सोनम शेर्पाले प्रयोग गरेको साइकल तथा विभिन्न खेलाडीले जितेका मेडल र प्रमाणपत्र जस्ता महत्त्वपूर्ण सामग्री पनि संग्रहालयमा छन्।
यस्ता सामग्री कतिपय खेलाडीले संरक्षण हुने र आउँदो पुस्ताले पनि हेर्न पाउने भन्दै आफैं संग्रहालयमा आएर दिएका हुन्। कतिपय सामग्री भने संस्थापक तथा अध्यक्ष क्षितिज अरूण श्रेष्ठले सम्बन्धित खेलाडी र व्यक्तिलाई मनाएर ल्याएका हुन्।
ऐतिहासिक महत्त्वका यी सामग्री हिजोआज भने संग्रहालयबाटै हराउन थालेका छन्। कतिपय देखिने स्थानमा समेत छैनन्। ठाउँ अभाव र २०७२ सालको भूकम्पले यस्ता अमूल्य बस्तु हराएको बताइन्छ। कतिपय भने लापरबाहीका कारण पनि चोरी भएका आरोप पनि अध्यक्ष श्रेष्ठमाथि छ। ‘मैले खोजिनिति गरें। त्यहाँ बच्चाहरूले खेल्ने जसरी पदक तथा सम्मान राखिएको छ। मैले उहाँलाई मेरो तीनवटा मेडलहरू खोई भनेर सोधेँ। यता कतै परेको होला खोजेर दिन्छु भन्नु भयो,’ पूर्वधावक बैकुन्ठ मानन्धर भन्छन्।
पदक हराइदिए– मानन्धर, संग्रहालयमै छ– श्रेष्ठ
मानन्धरका अनुसार दक्षिण एसियाली खेलकुद (साग)मा जितेका स्वर्णपदक उनले नेपाल ओलम्पिक संग्रहालयलाई दिएका थिए। संस्थापक श्रेष्ठले नै यी मेडल ऐतिहासिक भएको भन्दै सबैलाई देखाउनुपर्ने मानन्धरसँग बताएका थिए। मानन्धरलाई पनि उनको कुरा जायज लागेपछि सबैले हेर्न पाउने र सुरक्षित हुने गरी राख्न दिएका थिए। उनले सन् १९८७ मा जितेको मेडल भने करिब एक वर्षअघि नै संग्रहालयबाटै हराएको मानन्धर बताउँछन्।
‘सागमा सन् १९८४, ८५ र ८७ को तीन संस्करणमा तीन स्वर्ण जितेको थिएँ। सन् १९८७ मा जितेको स्वर्ण मेरो लागि विशेष थियो। उक्त दौडमा मैले रेकर्ड तोडेर स्वर्ण जितेको थिएँ। तर, त्यही स्वर्ण संग्रहालयले हराइदियो,’ उनले भने।
अन्तिम वर्ष उनले २ घण्टा १५ दशमलव ३ सेकेन्डमा दौड पूरा गरेर सागमा कीर्तिमान राखेका थिए। यो कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन। उनको त्यही महत्त्वपूर्ण पदक हराएको छ भने अन्य दुई वटा संग्रहालयमा छन्।
तर, संस्थापक श्रेष्ठ संग्रहालयमा भएको कुनै सामान नहराएको दाबी गर्छन्। २०७२ सालको भूकम्पपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा रहेको संग्रहालयलाई नेपाल ओलम्पिक संघमा स्थान्तरण गर्दा कुनै–कुनै सामान नदेखिए पनि नहराएको उनको जिकिर छ। ‘भूकम्पपछि सामान हामीले बक्सामा प्याक गरेर ल्याएका थियौं। त्यतिखेर बैकुन्ठ मानन्धरको मेडल अरू बक्सामा परेछ। त्यो एकपटक हरायो भनेर ठूलै हल्ला चलेको थियो। तर, उहाँको तीन वटै मेडल सुरक्षित छन्,’ उनले भने।
संग्रहालय खोल्ने अनुमतिमा थियो बन्द गर्ने सर्त
श्रेष्ठले संग्रहालय सन् १९९४ मा नै दर्ता गरिसकेका थिए। तर, स्थापनाका लागि पाँच वर्ष कुर्नु परेको थियो। त्यस अवधिमा उनी आफैं संग्रहालयमा राखिने सामग्री खोज्न राजदरबारदेखि खेलाडीको घरसम्म धाएका थिए।
कतिपयले उनलाई ती सामग्री सहजै दिए। कतिपय शंकालु नजरले हेर्थे। आफूले पाएको मानसम्मान हराउने डरले पनि कतिपयले दिन अस्वीकार गरे। खेलाडीले वर्षाैँ खेलेर कमाएका सामग्री सुरक्षित हुने श्रेष्ठसँग कुनै सुनिश्चितता पनि थिएन। न त उनले संग्रहालयका लागि उपयुक्त ठाउँ नै पाएका थिए।
खेलकुद फोटो पत्रकारको रूपमा विभिन्न देश घुमिसकेका श्रेष्ठले यस्ता संग्रहालय देखेका थिए। यस्ता संग्रहालयले आन्तरिक पर्यटक मात्रै होइन्, विदेशीलाई पनि लोभ्याउने गरेको उनले देखे। तर, नेपालमा भने यस्तो संग्रहालय नै थिएन। ‘त्यो बेला मैले संग्रहालय बनाउनुपर्छ भनेर पहल गरें। संग्रहालयका लागि ठाउँ थिएन, राख्ने सामग्री थिएनन्। लामो समय पत्रकारिता गर्दा धेरै फोटो संकलन गरेको थिएँ। त्यही फोटोबाट घरैमा संग्रहालयका सामग्री राख्न थालेको थिएँ,’ उनी भन्छन्।
सन् १९९९ मा नेपालमै आयोजना भएको आठौं सागको १०० दिनको काउन्टडाउन चल्दै थियो। त्योबेला साग राष्ट्रका सबै खेलाडी र पदाधिकारी जम्मा हुने भएकोले उनलाई पनि नेपालले हात पारेको उपलब्धि देखाउन मन लाग्यो। त्यसअघि नै संग्रहालय दर्ता गरिसकेका कारण उनलाई ठाउँ मात्रै चाहिएको थियो।
त्योबेला साग तयारी समितिका सदस्यसचिव विनोदशंकर पालिखेले नै रंगशालामा ठाउँ दिएका थिए। त्यतिमात्रै होइन, उनले २ लाख रूपैयाँ आर्थिक सहयोग पनि गर्दिए। ‘हामीसँग ठाउँ भएपछि पहिला सामान नदिएकाले दिन थाले। नरशम्मशेर जबरालगायत केहीले आफूले जितेका पदक तथा सम्मान पछि फिर्ता गर्ने सर्तमा दिनुभएको थियो। हामीले निक्कै कम सामग्री राखेर सागको एक दिनअगाडि संग्रहालयको उद्घाटन गर्यौँ,’ उनी भन्छन्।
तर, संग्रहालय खोल्न अनुमति दिनेहरूले नै यसलाई दीगो हुन नदिने नीति लिएका थिए। अनुमति दिँदा साग सक्किएको दुई दिनभित्र संग्रहालय बन्द गर्नुपर्ने सर्त राखिएको थियो। तर, साग सक्किएको दुई दिनपछि तत्कालीन युवराज दीपेन्द्र वीरविक्रम शाहलाई भेटेर श्रेष्ठले संग्रहालय त्यही राख्ने व्यवस्था गरिदिन आग्रह गरे। त्यसपछि मात्र उनले संग्रहालय राखिराख्न पाए।
संग्रहालय स्थापनाका लागि नेपाल ओलम्पिक संघले भने उनलाई कुनै सहयोग गरेन। तर, उनी संग्रहालयलाई विस्तारित गर्न विभिन्न सामग्री जम्मा गरिरहेका थिए। सन् १९५१ को एसियाली खेलकुदमा नेपालका प्रतिनिधिले लगाएको ‘ब्लेजर’लगायत राजा त्रिभुवन र राणा परिवारसँग सम्बन्धित खेल सामग्रीहरू पनि उनले जम्मा गरिसकेका छन्। तर, आर्थिक अभावले प्रचारप्रसार गर्न पाएका छैनन्।
६५ प्रतिशत सामग्री मात्र प्रदर्शनीमा
संग्रहालयमा नेपाली खेलकुद, इतिहास र वर्तमानलाई बुझ्ने हिसाबले निकै महत्त्वपूर्ण सामग्रीहरू भए पनि यसलाई हेर्न कम मानिस आउने गरेको श्रेष्ठ सुनाउँछन्। उनी भन्छन्, ‘पहिले दशरथ रंगशालामा हुँदा त्यहाँ राम्रो भिडभाड हुन्थ्यो। वार्षिक २०–३० वटा विद्यालय संग्रहालयमा जाने गर्थे। तर, २०६९ सालमा दशरथ रंगशालामा रेट्रोफिटिङ गरियो र हामीलाई ओलम्पिक संघको हातामा सारियो। त्यसपछि परिस्थिति परिवर्तन भयो। कुनै दिन त एक जना पनि भित्र पस्दैन।’
संग्रहालय सातदोबाटो सारिए पनि कतिपय सामग्री भने त्रिपुरेश्वरमै राखिएको थियो। २०७२ सालको भूकम्पमा संग्रहालय भएको कोठाहरू क्षतिग्रस्त भए। त्यसपछि उनले सबै सामान सातदोबाटो नै सारेका थिए।
त्यही बेला उनलाई संग्रहालयमा राख्न दिइएको सामग्री घरमा लगेर राखेको आरोप पनि लागेको थियो। ‘सामान हराउनले डरले हामीले सबै सातदोबाटो सार्यौँ। त्यहाँ पनि ठाउँ साँघुरो छ। त्यसैले कतिपय महत्त्वपूर्ण सामग्री त घरैमा लगेर राखेको छु। त्यही सामान सार्ने बेला बैकुन्ठ दाइको मेडल हराएको हुनसक्छ,’ उनले भने।
अहिले सातदोबाटोको संग्रहालय तीन वटा कोठामा खुम्चिएको छ। पहिलोमा प्रदर्शनी हल, दोस्रोमा सातदेखि आठ हजारसम्म पठन सामग्री रहेको पुस्तकालय र अन्तिममा प्रशासन कार्यालय रहेको छ। पुस्तकालयमा नेपाली खेलकुदसँग सम्बन्धित लगभग सबै पुस्तक रहेको श्रेष्ठ बताउँछन्। उनका अनुसार ठाउँ अपुग भएकाले जम्मा गरिएका सामग्रीमध्ये ६५ प्रतिशत मात्रै प्रदर्शनीमा राख्न सकिएको छ।
अहिले पनि कतिपय सामग्रीहरू असुरक्षित रहेको उनले महसुस गरेका छन्। ‘ठाउँ नभएको कारण कतिपय सामग्री बिग्रिँदै गएको छ। प्रमाणपत्र, फोटो र केही मेडलहरू ढुसी लागिसकेका छन्। तर, हामीले जम्मा गरेका सामग्री हराउन दिएका छैनौं। बैकुन्ठ दाइको मेडल पनि हराएको छैन। यतै परेको थियो। उहाँसँग यसबारे कुरा नभएको मात्रै हो,’ उनी भन्छन्।
उनका अनुसार ठाउँ अभाव भएका कारण सरकारसँग छुटै भवन बनाइदिन माग गरिएको छ। युवा तथा खेलकुद मन्त्री महेशजंग गहतराजले पनि संग्रहालयका लागि छुट्टै व्यवस्था गरिदिने आश्वासन दिएका छन्। उनी राम्रो ठाउँ पाए संग्रहालयले ठूलो स्वरूप लिने दाबी गर्छन्।
‘२८ वर्ष पुरानो संग्रहालयलाई अद्यावधिक गर्न चाहन्छौं। डिजिटल रूपमा वस्तुहरूको दस्तावेजीकरण र संरक्षणमा काम गरिरहेका छौं। आफ्नै आधिकारिक वेबसाइटमार्फत् सबै संग्रह डिजिटल गर्ने कोशिश गरिरहेका छौं। अहिले हामीलाई अभाव भएको ठाउँ मात्रै हो। ठाउँ पाए हामीले सबै सामान सुरक्षित रहेको प्रमाण देखाउन सक्थ्यौं,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।