काठमाडौं– अन्तर्राष्ट्रिय कल बाइपास गर्ने कार्यमा संलग्न रहेको भन्दै प्रहरीले एकजना भारतीय नागरिकलाई वीरगञ्जबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश, जौनपुर जिल्ला बादशाहपुर थानाका ग्राम टोल निवासी ३८ वर्षीय ईरफान सुफियान खान छन्। उनलाई मंगलबलार दिउँसो वीरगञ्ज महानगरपालिका–२, बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीको साइबर ब्यूरो र पर्सा प्रहरीको संयुक्त टोलीले विशेष सूचनाका आधारमा उनलाई वीरगञ्ज–२ को रेल्बे रोड छपकैया मनान मिया तेलीको घरबाट पक्राउ गरेको हो। उनी उक्त घरमा डेरा गरी बस्दै आएका थिए।
उनले गएको चार महिनादेखि छपकैयामा बसेर अन्तर्राष्ट्रिय कल बाइपास गर्ने गरेको प्रहरीले जनाएको छ। खानलाई भीओआईपी (भोइस ओभर इन्टरनेट प्रोटोकल) कल बाइपास गर्दै गर्दाको अवस्थामा उपकरणसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनको साथबाट ३२ पोर्टको डिनस्टोप कम्पनीको भीओआईपी गेटवे एक थान, वर्ल्ड लिंकको राउटर एक थान, टेन्डा कम्पनीको राउटर एक थान, माइक्रोटेक्स कम्पनीको इन्भटर एक थान बरामद भएको छ। यसैगरी, नेपाल टेलिकमको सिम ४० वटा र एनसेको सिम ५८ वटा बरामद भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।