काठमाडौं–अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र विश्व बैंकका प्रबन्ध निर्देशक मारी अल्का मान्जेस्तुले काठमाडौंको दरबारमार्गस्थित पुननिर्माणपछि तयार भएको विश्व बैंकको नयाँ क्षेत्रीय कार्यालयको संयुक्त रुपमा उद्घाटन गरेका छन्।
यो कार्यालयको उद्घाटनपछि श्रीलंकामा अवस्थित उप–क्षेत्रीय कार्यालय विधिवत् रूपमा नेपालमा सरेको छ। अब यही कार्यालयबाट नेपाल, माल्दिभ्स र श्रीलंकाको कार्य सञ्चालन हुनेछ।
नयाँ क्षेत्रीय कार्यालयको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखि भरपर्दो साझेदारका रूपमा रहिआएको बताए।
सन् १९६९ मा विश्व बैंकबाट पहिलो पटक १७ लाख अमेरिकी डलर बराबरको सहयोग लिएकोमा हाल विश्व बैंकको वित्तीय सहयोगमा सञ्चालित २५ आयोजनाहरूमा करिब ३ अर्ब अमेरिकी डलर बराबरको प्रतिबद्धता प्राप्त भइसकेको छ।
कार्यालयको विस्तार र स्तरोन्नतिसँगै संस्थामा काम गर्ने कर्मचारीको जिम्मेवारी पनि बढ्ने मन्त्री शर्माले विश्वास व्यक्त गरे।
‘विश्व बैंकले वित्तीय श्रोतलगायत ज्ञान, अनुभव र विश्वव्यापी असल अभ्यास पनि आदान–प्रदान गर्दछ। विश्व बैंक अनुभवी र विषय विज्ञले भरिएको संस्थाका हो,’ उनले भने, ‘त्यसको लाभ नेपालले पनि लिने विश्वास गरेको छु।’
विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमले सन् २००७ देखि नेपालमा काम सुरु गरेको र यसले निजी क्षेत्रको सहयोग तथा सहजीकरण गर्ने भएकाले नेपालका निजी क्षेत्रसमेत लाभान्वित हुने विश्वास लिएको मन्त्री शर्माले बताए। नयाँ क्षेत्रीय कार्यालय अन्तर्राष्ट्रिय मापदण्डमा आधारित भई निर्माण सम्पन्न गरेको विश्व बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।