काठमाडौं– केन्द्रीय कारागारमा रहेका गुण्डा नाइके समीरमानसिंह बस्नेतलाई भेट्न कारागार पुगेको आरोप लागेका प्रहरी वृत्त स्वयम्भूका डीएसपी मिलन केसीलाई कारबाही सिफारिस गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनाली नेतृत्वको तीन सदस्यीय छानबिन समितिले डीएसपी केसीलाई विभागिय कारबाहीका लागि सिफारिस गरेको हो।
छानबिन सकेर बुझाएको प्रतिवेदनमा विभागीय कारबाहीका लागि सिफारिस गरिएको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदिप गिरीले बताए।
कारागारमा पुगेर डीएसपी केसी आफैंले गुण्डा नाइके बस्नेतलाई भेटेको भन्दा पनि अन्य व्यक्तिलाई भेटका लागि सहजीकरण गरेको छानबिन समितिले ठहर गरेको छ।
आफ्नो क्षेत्रभन्दा बाहिर गएर भेट गर्दा माथिल्लो निकायलाई जानकारी गराउनु पर्नेमा बिना जानकारी कारागार पुगेको पनि समितिले औंल्याएको छ।
गलत मनसायले आफैंले भेट गरेको भन्दा पनि पदीय दुरुपयोग गरेर विवादास्पद पृष्ठभूमिका व्यक्तिलाई भेटका लागि सहजीकरण गरिदिएको समितिले निष्कर्ष निकालेको छ।
जेठ २९ गते केसी अर्का विवादास्पद पात्र अमृत केसीलाई लिएर बस्नेतलाई भेट्न कारागार पुगेको खुलेको थियो।
बस्नेत २०७४ असोजमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई बानेश्वारमा गोली हानी हत्या गरको आरोपमा पुर्पक्षमा कारागारमा छन्। साढे २ करोड रुपैयाँ कमिसन नदिएपछि गौचनको हत्या भएको खुलेको थियो।
कारागारमा रहँदासमेत बस्नेतले अपराधिक गतिविधि सञ्चान गरेको आरोपसमेत लाग्दै आएको थियो। केही समयअघि तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सहोदर भाइलाई समेत प्रयोग गरेर बस्नेतले जेलभित्रबाटै आपराधिक धन्दा सञ्चालन गरेको आरोप लागेको थियो।
त्यसपछि केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले गृहमन्त्री थापाका भाइ नरेश थापासहित ८ जनालाई पक्राउ गरेर अपराधिक लाभको कसुरमा मुद्दा चलाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।