काठमाडौं– केन्द्रीय कारागारमा रहेका गुण्डा नाइके समीरमानसिंह बस्नेतलाई भेटेको पाइएपछि प्रहरी वृत्त स्वयम्भूका डीएसपी जिम्मेवारीबाट हटाइएका छन्।
केसीलाई स्वयम्भू वृत्तको प्रमुखबाट हटाएर काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा तानिएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र धानुकले केसीलाई जिम्मेवारीबाट हटाइएको बताए। उनको ठाउँमा अहिलेसम्म कसैलाई खटाइएको भने छैन।
गत आइतबार बिना जानकारी स्वयम्भूका डीएसपी मिलन केसीले गुण्डा नाइकेलाई भेटेको जानकारी पाएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले छानबिन प्रक्रिया अघि बढाएको थियो।
परिसरका प्रमुख तथा एसएसपी सुदीप गिरीका अनुसार तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ। गिरीका अनुसार परिसरका एसपी दिनेशराज मैनालीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो।
समितिले छानबिन गरेर प्रतिवेदन पेस गरेपछि दोषी देखिए कारबाही प्रक्रिया अघि बढाइने गिरीले नेपाल लाइभलाई जानकारी दिए।
‘भेट्न भएको भन्ने विषय सार्वजनिक भएपछि हामीले छानबिन समिति गठन नै गरेर काम सुरु गरिसकेका छौं। किन भेट्न गए? कुन नियत राखेर भेटे भन्ने कुरा अनुसन्धानबाट खुलेपछि दोषी देखिए कारबाहीको दायरामा ल्याइन्छ,’ एसएसपी गिरीले भने।
गत आइतबार केसी अर्का विवादास्पद पात्र अमृत केसीलाई लिएर कारागार पुगेको खुलेको छ। कारागारमा डीएसपी केसीले बस्नेतसँग के कुरा गरे भन्ने विषय सार्वजनिक भएको छैन।
बस्नेत २०७४ असोजमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई बानेश्वारमा गोली हानी हत्या गरकोे आरोपमा पुर्पक्षमा कारागारमा छन्। साढे २ करोड रुपैयाँ कमिसन नदिएपछि गौचनको हत्या भएको खुलेको थियो।
कारागारमा रहँदासमेत बस्नेतले अपराधिक गतिविधि सञ्चान गरेको आरोपसमेत लाग्दै आएको थियो। केही समयअघि तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सहोदर भाइलाईसमेत प्रयोग गरेर बस्नेतले जेलभित्रबाटै आपराधिक धन्दा सञ्चालन गरेको आरोप लागेको थियो।
त्यसपछि केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले गृहमन्त्री थापाका भाइ नरेश थापासहित ८ जनालाईसमेत पक्राउ गरेर अपराधिक लाभको कसुरमा मुद्दा चलाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।