काठमाडौं– सशस्त्र प्रहरी बल भारदह सप्तरीले अवैध तेलसहित भारतीय नम्बरको ट्रक नियन्त्रणमा लिएको छ। शुक्रबार बिहान सप्तरीको हनुमानगर–कंकालीनी नगरपालिका–१ स्थित कोशी ब्यारेजमा उक्त ट्रकलाई नियन्त्रणमा लिइएको हो।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको यूपी–७५एम३६९५ नम्बरको ट्रकबाट ५७ लाख ७० हजार ८ सय मूल्य बराबरको रिफाइन्ड पाल्मोनियम तेल १५ सय टिन बरामद गरेको हो।
सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङका नेतृत्वमा खटिएको सात जनाको सशस्त्र प्रहरीले चेकजाँचका क्रममा उक्त तेल र ट्रकको कागजात नपाएपछि नियन्त्रणमा लिएको बताइएको छ।
ट्रकका चालक भारतको कानपुर देहातका ३० वर्षीय अवध वाक र सहचालक २३ वर्षीय धिरकुमारलाई पनि नियन्त्रणमा लिइएको छ।
नियन्त्रणमा लिइएको ट्रकको मूल्य ५५ लाख र तेलको मूल्य ५४ लाख ९६ हजार कायम गरी आवश्यक अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।