काठमाडौं- लागूऔषध हेरोइन ५१ किलोग्राम सहित ७ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरोले नेपालमा दक्षिण अफ्रिकाबाट आएका केही महिलाहरुलाई पटक पटक लागूऔषध हेरोइनसहित पक्राउ गरेको विगतको अनुभवका आधारमा निगरानी गरी काठमाडौंको ठमेल तथा वरपरका क्षेत्रमा सञ्चालन गरेको एक हप्ता लामो निगरानी तथा 'रेड'का क्रममा ५१ केजी हेरोइनसहित सात जनालाई पक्राउ गरिएको ब्यूरोका प्रमुखसमेत रहेका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए।
पक्राउ परेका उनीहरुलाई बिहीबार प्रहरीले सार्वजनिक गरिएको छ। पक्राउ पर्नेमा गत जेठ २९ गते फ्लाइ दुबईबाट नेपाल आएका दक्षिण अफ्रिकन नागरिक वर्ष २९ की सिबिसी थान्डेकिली र वर्ष ४६ की मुरिल इड्युक्वाजी रहेका छन्। उनीहरुलाई जेठ ३० गते साढे ४ बजे ठमेलस्थित एक होटलबाट १६ किलो हेरोइनसहित पक्राउ गरिएको ब्यूरोले जनाएको छ।
त्यस्तै जेठ ३० गते फ्लाइ दुवईमार्फत् नेपाल भित्रिएकी वर्ष ३९ की तासाबलाला खानिसिली योभोनीलाई सोही दिन राति ११ बजे ठमेलस्थित एक होटलबाट ८ किलो खैरो हेरोइनसहित पक्राउ गरिएको थियो। त्यसै दिन काठमाडौं अवतरण भएकी वर्ष ३६ की रोसिना नोक्यूले जेन्टजीलाई राति साढे ११ बजे ठमेलस्थित एक होटलबाट सेतो हेरोइन ८ किलोसहित पक्राउ गरिएको ब्यूरोले जनाएको छ।
त्यस्तै जेठ २६ गते काठमाडौं अवतरण भएकी वर्ष २९ कि माहालाको मौरेन माथिवालाई सोही दिन ठमेलस्थित एक होटलबाट सेतो हेरोइन ७ किलो सहित पक्राउ गरिएको थियो। जेठ ३१ गते काठमाडौं अवतरण भएकी वर्ष ३७ कि मोरैसी सुजान कोफूलाई सोही ठमेलबाट सेतो हेरोइन ४ र खैरो २ गरि ६ केजी हेरोइनसहित पक्राउ गरिएको हो। सोही दिन वर्ष ३० कि मार्लेस बेन्डिनहोरस् ६ किलो सेतो हेरोइनसहित ठमेलबाट पक्राउ परेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए।
पक्राउ परेका सात जनाबाट बरामद लागूऔषध हेरोइन ५१ केजीको बजार मूल्य करिब १ अर्ब २ करोड रहेको श्रेष्ठले जानकारी दिए।
उनीहरुविरुद्ध लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम काठमाडौं जिल्ला अदालततबाट ७ दिन म्याद थप गरि अनुसन्धान भइरहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।