काठमाडौं– बहुप्रतिक्षित सुपरहिरो बलिउड फिल्म ‘ब्रह्मास्त्रः शिवा’को ट्रेलर सार्वजनिक भएसँगै यसलाई बहिष्कार गर्ने अभियान पनि चलेको छ। ट्विटरमा फिल्मलाई बहिष्कार गर्न चलाइएको ह्यासट्याग ट्रेण्डिङमा परेको छ।
रणविर कपुर र आलिया भट्ट अभिनित सुपर हिरो फिल्मको ट्रेलर बुधबार सार्वजनिक भएको थियो। छुट्टै सिनेमेटिक युनिभर्स ‘अस्त्रभर्स’ अन्तर्गत रहेर बनेको पहिलो फिल्मको ट्रेलरले धेरै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहँदा ट्विटरमा भने फिल्म बहिष्कार गर्न माग उठेको छ।
फिल्मकी अभिनेत्री आलिया बलिउडमा नातावादको उत्पादन भएको र अभिनेता सुशान्त सिंहको निधन नातावादका कारण भएको भन्दै फिल्मलाई बहिष्कार गर्न माग गरिएको छ।
आयान मुखर्जीको लेखन तथा निर्देशनमा बनेको यो फिल्म सेप्टेम्बर ९ मा प्रदर्शनमा आउँदै छ। बलिउडबाट पहिलोपटक वाल्ट डिज्नीको ‘डिज्नी क्यालेन्डर’मा परेको फिल्म सो दिन विश्वभर प्रदर्शनमा आउँदै छ।
फिल्ममा विभिन्न किसिमका अलौकिक शक्ति संसारमा भएको र त्यसको नियन्त्रण र बचाउका लागि फरक फरक मान्छेलाई जिम्मेवारी दिइएको कथा प्रस्तुत गरिएको बताइएको छ।
प्रेम र अलौकिक शक्तिको आधारमा बनेको फिल्म २०१४ मै घोषणा भएपनि भीएफएक्सदेखि छायांकनको क्रममा अत्यधिक समय लागेको थियो।
फिल्ममा रणविर र आलियासँगै अमिताभ बच्चन, मौनि रोय, नागरजुना अक्किनेनीलगायतका कलाकारको अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।