काठमाडौं– भदौ १० मा प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रकाश’मा अभिनेत्री दिया मास्केले सीताको भूमिका निभाएकी छिन्। मास्केले बुधबार सामाजिक सञ्जालमार्फत् फिल्ममा भएको आफ्नो भूमिका सार्वजनिक गरेकी हुन्।
मास्कले सीताको भूमिका नेपाली सिनेमा क्षेत्रमा बढेको साहित्य चेत र महिला पात्रको उपस्थिति जनाउने तत्वसँगै चलचित्रको 'न्यारेटिभ'को अभिन्न अंगको रुपमा रहेको बताएकी छिन्।
आफू दियाबाट सीता बनिरहँदा चलचित्रका लागि फरक भाषा सिक्नु, रहनसहन सिक्नु सजिलो नभएपनि कठिन महसुस नभएको उनले बताएकी छिन्।
‘चलचित्रमा साहित्य चेत बढेसँगै चलचित्र अभिनयमा पनि एक प्रकारको गहिराई आउन थालेको छ’, दियाले लेखेकी छिन्, ‘दियाबाट सीता बनिरहँदा चलचित्रको छायांकन स्थलमा रहेर त्यहाँको भाषा सिक्नु, रहनसहनसँग बानी पार्नु सजिलो पक्कै थिएन तर कठिन हो भन्ने पनि कहिल्यै महसुस भएन। गरिरहेको कामप्रति इमान्दार नहुनु भनेको पात्रलाई गिज्याउनु हो भन्ने मलाई लाग्छ।’
दियाले आफूले फिल्मको पोस्टर सार्वजनिक गरिहँदा गर्व महसुस गर्नु फिल्मकी पात्र सीताप्रतिको लगाव भएको बताएकी छिन्।
नेपाली सिनेमामा पात्र छनोट र चरित्र निर्माणमा ध्यान नदिइएको अवस्थाबाट विस्तारै समय फेरिएको दियाले उल्लेख गरेकी छिन्।
महिलालाई कोटा भर्न उभ्याइएजस्तो अवस्थाबाट अहिले सिनेमामा सशक्त भूमिकामा महिला पात्रलाई स्थापित गर्न थालिएको आफूले महसुस गरेको दियाले बताएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।