काठमाडौं– देशभरका सिनेमा हलमा प्रदर्शन भइरहेको फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’को प्रदर्शन रोक्न माग गर्दै उजुरी परेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दर्ता गर्दै फिल्मको प्रदर्शन रोक्न माग गरिएको छ।
रोविन कुमार लामाले फिल्मविरुद्ध उजुरी दिएका हुन्। उनले बौद्धधर्मको मानमर्दन हुने कथा र दृश्य फिल्ममा भएको भन्दै फिल्मको प्रदर्शन हाल रोक्न माग गरेका छन्। उनले फिल्मको दृश्य र शब्दलाई काँटछाँट गरेर मामत्रै प्रदर्शन गर्नुपर्ने बताएका छन्।
सोमबार लामाले चलचित्र जाँच समिति, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर उजुरी दिएका हुन्।
लामाको उजुरीमा फिल्मको मुल कथावस्तु र प्रस्तुतीका दृश्यहरु बौद्ध धर्मवलम्बी लामा (भिक्षु) वर्ग, सनातन बौद्ध सम्प्रदायको मानमर्यादामा हानी नोक्सानी पुर्याउने किसिमको भएको उल्लेख गरेका छन्।
रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म ‘कबड्डी ४’ जेठ १३ गतेबाट प्रदर्शनरत छ। फिल्मले हालसम्म देशभरको प्रदर्शनबाट २० करोडभन्दा बढि आम्दानी गरिसकेको छ। दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, विजय बराल, मिरुना मगरलगायतका कलाकारले फिल्ममा अभिनय गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।