काठमाडौं– अक्षय कुमार अभिनित फिल्म ‘सम्राट पृथ्वीराज’ले ९ दिनमा ७१ करोड भारतीय रुपैयाँको मात्रै आम्दानी गरेको छ। फिल्म प्रदर्शन भएको दुई साता बित्न लाग्दा पनि फिल्मले लगानी उठाउनै हम्मेहम्मे परेको छ।
‘सम्राट पृथ्वीराज’ जुन ३ मा प्रदर्शनमा आएको थियो। ३ सय करोड भारतीय रुपैयाँको लगानीमा बनेको फिल्मको प्रदर्शन अघि विभिन्न विवादसँगै चर्चामा पनि आएको थियो। एकातिर फिल्मको नामको विषयलाई लिएर भारतका विभिन्न जातीय समूहहरुले विवाद उत्पन्न गरेका थिए भने कतिपय स्थानमा फिल्मलाई प्रदर्शन गर्नै पनि रोक लगाइएको थियो।
प्रदर्शन भएको करिब दुई साता बित्न लाग्दा पनि फिल्मले सन्तोषजनक आम्दानी गरेको छैन। चन्द्रप्रकाश द्विवेदीको निर्देशनमा बनेको फिल्ममा भारतका कुनै समयका सम्राटको कथालाई प्रस्तुत गरिएको छ। फिल्मलाई निर्देशक द्विवेदीले नै लेखेका हुन्।
अक्षयसँगै फिल्ममा मानुषी छिल्लर मुख्य भूमिकामा छन्। यो मानुषी बलिउड डेभ्यु फिल्म हो। सँगै सञ्जय दत्त, सोनु सुधलगायतका कलाकारको अभिनय फिल्ममा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।