काठमाडौं-नुवाकोटको ककनी ७ स्थित नेपाल विद्युत प्राधिकरणको त्रिशुली–काठमाडौं २२० केभी प्रसारण लाइनबाट ८ घण्टापछि उद्धार गरिएका व्यक्तिलाई काठमाडौं ल्याइँदैछ।
नेपाली सेनाको विशेष फौज बाहिनीबाट खटिएको ४ जनाको ‘सिक्युआरटी’ बाट उद्धार गरिएका नुवाकोटको बेलकोटगढी नगरपालिका १३ घलेगाउँका ४४ वर्षीय माइला विकलाई काठमाडौं पठाउन लागिएको नुवाकोटका एसपी रामप्रकाश शाहले बताए। उनमा मानसिक समस्या रहेको र हाल उनी प्रहरी संरक्षणमा रहेको प्रहरीले जनाएको छ।
विकलाई राहत र उद्धारको काम गर्दै आएको काठमाडौंको तारकेश्वरस्थित नवजीवन संस्थाको संरक्षणमा राखिने जनाइएको छ।
विक शनिबार बिहान ११ बजे प्रसारण लाइनमा चढेका थिए। उनको क्रियाकलापका कारण बिहान ११ बजदेखि माथिल्लो त्रिशुली थ्री ए लगायतका केही आयोजनाको बिजुली उत्पादनमा नै असर परेको विद्युत प्राधिकरणले जनाएको थियो।
विकलाई शनिबार दिनभर प्रहरी र स्थानीयबासीले तल झार्ने प्रयास गरेपनि असफल भएका थिए। त्यसपछि सेनाको सहायता लिइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।