काठमाडौं– नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा महिला तथा नाबालिकाको भिडियो/तस्वीर संप्रेषण गरी चरित्र हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पीडितको जाहेरीपछि एक जनालाई धुलिखेलबाट पक्राउ गरिएको छ भने अर्की महिलालाई काठमाडौंबाट पक्राउ गरिएको हो।
पीडित नाबालिकाको तस्वीर ईडिट गरी अश्लिल भिडियो बनाएर नाबालिकाका आफन्त तथा साथीभाईलाई सामाजिक सञ्जालमा पठाएर चरित्र हत्या गरेको आरोपमा जेठ २५ गते काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नम्बर ६ घर भएका २० वर्षीय विकेश सोजुँ लाई पक्राउ गरेको थियो।
विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर धुलिखेल नगरपालिका–६ बाट पक्राउ गरिएको हो ब्यूरोले जनाएको छ।
यस्तै महिलाको तस्वीर दुरुपयोग गरी समाजमा अपाच्य हुने खालको फोटो क्याप्सनसहित पोस्ट गरी महिलाको चरित्र हत्या गरेको आरोपमा खोटाङ, ऐसेलुखर्ककी २० वर्षीया भोजकुमारी दाहाललाई पनि पक्राउ गरिएको छ।
पक्राउ परेका दुवै जनाविरुद्ध काठमाडौं जिल्ला अदातलबाट ५ दिनको म्याद थप भई अनुसन्धान गरिरहेको ब्यूरोले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।