काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा नं ५ मा भएको यात्रुबाहक बोलेरो जीप दुर्घटनामा घाइते भएकाहरूको हेलिकोप्टरबाट उद्धार गरी तत्काल उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन्।
गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति शुरक्षा तथा अपराध नियन्त्रण महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल र जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीलाई घाइतेको हेलिकोप्टरमार्फत् तत्काल उद्धार र उपचारको व्यवस्था मिलाउन उनले निर्देशन दिएका हुन्।
जाजरकोटका प्रजिअ शाहीले गृहमन्त्री खाणको निर्देशनपछि नेपाली सेनाको सुर्खेत कार्यालयसँग हेलिकोप्टरका लागि समन्वय भइ कालिकोटमा रहेको हेलिकोप्टर उद्धारका लागि घटनास्थल नजिक पुग्दैगरेको जानकारी दिए। गृह मन्त्रालयका प्रवक्ता पोखरेलले मन्त्री खाणको निर्देशनपछि उद्धारका लागि हेलिकोप्टर व्यवस्था गरेर घटनास्थलतर्फ पठाइएको जानकारी दिए।
सुर्खेतबाट जाजरकोट जाँदै गरेको क ०२–००१ च ०३४१ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको, ५ जनाको गम्भीर घाइते भएको र चार जना सामान्य घाइते भएको प्रजिअ शाहीले जानकारी दिए। मृतकको सनाखत भइसकेको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।