काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अपाङ्गता भएका व्यक्तिलाई दोस्रो दर्जाको हुन नदिने गरी सरकारले काम गरिरहेको बताएका छन्। बिहीबार मन्त्रालयमा भएको अपाङ्गता भएका व्यक्तिहरुको समावेशी शिक्षा विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्।
अपाङ्गता भएकाहरुको समस्या राज्यको समस्या भएको भन्दै उनले अपाङ्गता भएकाहरुलाई रोजगारी, शिक्षक, शिक्षक सेवा आयोगको परीक्षाको कुरा र अनुगमको कुरामा समावेशिताका आधारमा समावेश गर्ने प्रतिवद्धता जनाए। मन्त्री पौडेलले सरकारमा सम्भव भएका ठाउँमा अपाङ्गता भएका व्यक्तिहरुलाई समेट्न सरकार लागिरहेको बताए। अपाङ्गता भएका व्यक्तिहरुको कतिपय समस्या समेट्दै गएको र बाँकी समस्या क्रमशः सरकारले समेट्ने पौडेलको भनाइ छ।
'तपाईहरुलाई दोस्रो दर्जाको नागरिकको अनुभुति हुन नदिने गरेर राज्यको तर्फबाट सम्मान हुनेछ। रोजगारी, सम्मान, अध्ययन, अध्यापन, अनुगमनमा जोड्ने कुरामा अघि बढाउने विश्वास दिलाउन चाहन्छु,' मन्त्री पौडेलले भने।
त्यस्तै मन्त्रालयका सचिव यादवप्रसाद कोईरालाले कस्ता अपाङ्गता भएका व्यक्तिलाई कसरी र कहाँ शिक्षादिक्षा दिने र उत्पादन भएको जनशक्तिलाई कसरी प्रयोग गर्ने भन्ने समस्या रहेको बताए। यससम्बन्धी कुनै दीर्घकालीन नीति र सोचाइ नरहेको सचिव कोइरालाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।