काठमाडौं– दरबारमार्गस्थित प्लाटिनम डिस्कोमा एक युवकमाथि कुटपिट भएको छ। काठमाडौं बालुवाटार घर भएका प्रतिकभाष्कर सिंहमाथि उक्त डिस्कोमा कुटपिट भएको हो।
घटना गत शुक्रबारको भए पनि अहिलेसम्म गुपचुपमै राखिएको छ। कुटपिटमा काभ्रेली समूहको संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ।
काभ्रेका केही युवाहरू सम्मिलित उक्त समूह लुटपाट तथा कुटपिटमासमेत संलग्न हुँदै आएको पाइएको समेत प्रहरीले जनाएको छ।
कुटपिटको घटनाबारे अनुसन्धान भइरहेको र फरारहरूको खोजी कार्य जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दिनेशराज मैनालीले बताए।
सिंहमाथि कुटपिटमा संलग्नहरु पहिला अपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीले दाबी गरेका छ। पहिला गुण्डागर्दीमा संलग्न रही अहिले काभ्रेकै भुम्लु गाउँपालिकाका उपाध्यक्षमा निर्वाचित दावा लामा अर्थात जितेन्द्रमान शाक्य निकटको काभ्रेली समूहबाट कुटपिट भएको भन्दै प्रहरीले उनीहरूको खोजी सुरु गरेको छ।
काभ्रेली समूह भन्ने बताए पनि कुटपिटमा को–को संलग्न थिए भन्नेबारे भने प्रहरीले तत्काल केही खुलाएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।