काठमाडौं– नेपाल प्रहरीको महानिरीक्षक (आईजी) बढुवामा असन्तुष्टि जनाउँदै अदालत पुगेका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको घरबिदा अस्वीकृत भएको छ। प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले पोखरेलको बिदा अस्वीकृत गरिदिएका हुन्।
'विश्वसापले १० दिनको घरबिदाका लागि निवेदन दिनुभएको थियो। तर, आईजी सापले बिदा स्वीकृत गर्नुभएको छैन,' प्रहरी प्रधान कार्यालय स्रोतले नेपाल लाइभसँग भन्यो, 'घरबिदाका लागि केही दिन अगाडि नै निवेदन परेपनि आईजी सापले बिदा स्वीकृत नगर्ने अडान लिनुभएको छ।'
आफूभन्दा डेढ वर्षभन्दा जुनियर एआईजी सिंहलाई आईजी बढुवा गरिएको भन्दै पोखरेलले सर्वोच्चमा रिट दायर गरेका छन्। आफूभन्दा 'जुनियर' आईजीको मुनि रहेर काम गर्न नसकिने भन्दै पोखरेल यसअघि पनि बिदामा बसेका थिए।
पोखरेलको रिट भने सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ। उनको रिटमाथि अर्को सुनुवाइ जेठ ३० गते हुने गरी पेसी निर्धारण गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।