काठमाडौं– अछामका किशोर विनोद शाहीको शव ५ दिनपछि उठ्ने भएको छ। प्रशासन र मृतकका परिवारबीच तीन बुँदे सहमति भएसँगै शव उठ्ने प्रक्रिया सुरु भएको हो।
बुधबार प्रशासन र पीडित परिवारका पक्षबीच तीन बुँदे सहमति भएको छ। शव पठाउने, पोष्टमार्टम गर्न पठाउने र अवस्था हेरेरर मुद्दालाई कानूनी प्रक्रिया लैजानेबारे तीन बुँदे सहमति भएको छ।
सहमति पत्रमा हस्ताक्षार हुन बाँकी रहेको र हस्ताक्षर हुनेबित्तिकै शव उठाउने प्रक्रिया सुरु हुने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णु केसीले नेपाल लाइभलाई जानकारी दिए।
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थानमा १७ वर्षीय शाही मृत भेटिएका थिए। उनी जेठ १७ गते राति रिठा टोलबाट हराएका थिए।
लगत्तै परिवारले विनोद हराएको र खोजबिन गरिदिन भन्दै प्रहरी कार्यालयमा निवेदन दिएको थियो। पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थानस्थित मध्यपहाडी लोकमार्गबाट १ किलोमिटर तल जंगलमा उनी मृत फेला परेका हुन्।
शाहीको मोबाइल शवभन्दा माथि मध्यपहाडी लोकमार्गमा भेटिएको थियो। उनले लगाएको चप्पल भिरमा अड्किएको अवस्थामा भेटिएको थियो। शाहीको हत्या भएको र अभियुक्तलाई पक्राउ गरी कानूनी दायरामा नल्याएसम्म शव उठाउन नदिने भन्दै आफन्तले प्रदर्शन गर्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।