काठमाडौं– अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाही मृत फेला परेको घटनाको अनुसन्धानका क्रममा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। शंकास्पद भूमिका देखिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले ४ जनालाई पक्राउ गरेको हो।
गाउँकै भिरमा जेठ २१ मृत फेला परेका शाहीको हत्या भएको भन्दै आफन्तले सत्यतथ्य अनुसन्धान गरी दोषीमाथि कारबाहीको माग गरेका छन्।
शाही मृत फेला परेको ५ दिन बितिसक्दा पनि आफन्तले शव बुझ्न मानेका छैनन्। घटनाको अनुसन्धानका लागि खटिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले मंगलबार ४ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कैलाश बिष्टले जानकारी दिए।
घटनाको अनुसन्धानका लागि सीआईबीसहित संघीय प्रहरी इकाइ महेन्द्रनगरबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डे नेतृत्वको टोली समेत खटिएको छ।
स्थानीय तहको चुनावमा नेकपा एमालेको चुनावी कार्यक्रममा सहभागी भएका भनिएका शाही जेठ १७ गतेदेखि बेपत्ता थिए। बेपत्ता भएको ५ दिनपछि जेठ २२ गते गाउँकै कुच्चीको भिरमा उनको शव फेला परेको थियो।
नेकपा एमाले र नेपाली कांग्रेस अछामले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन्।
एमालेले प्रहरी प्रशासनको बलमा नेपाल कांग्रेसका कार्यकर्ताले शाहीको हत्या गरेको आरोप लगाएको छ। कांग्रेसले एमालेको उक्त आरोपको खण्डन गरेको छ।
यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले पनि शाही मृत फेला परेको घटनाको सत्यतथ्य छानबिन गर्ने सरकारलाई निर्देशन दिएका छन्। बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा अछाम क्षेत्रनम्बर २ का सांसद यज्ञबहादुर बोगटीले शाही मृत फेला परेको घटनाबारे तत्काल छानबिन अगाडि बढाउन सरकारका नाममा रुलिङ गर्ने सभामुखसँग आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।