काठमाडौं– पश्चिम नवलपरासी जिल्ला अदालत परिसरमा गोली चलेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
अंशसम्बन्धी एउटा मुद्दाको विषयलाई लिएर भएको विवादका क्रममा गोली चलाएको आरोपमा सरावल गाउँपालिका–४ मंगलापुरका २८ वर्षीय हंशराज यादव पक्राउ परेका हुन्।
सोमबार दिउँसो साढे ३ बजेतिर यादवले गोली चलाएको प्रहरीले दावी गरेको छ। उनले मंगलापुरकै ३० वर्षीया रोशनी यादवलाई लक्षित गरेर गोली चलाइएको पाइएको प्रहरीले जनाएको छ।
गोली प्रहार गरी फरार भएका हंशराजलाई सुनवल नगरपालिका–१ वनकट्टीबाट मंगलबार दिउँसो साढे २ बजे पक्राउ गरिएको पश्चिम नवलपरासीका एसपी ऋषिराम कँडेलले बताए।
उनको साथबाट प्रहरीले मेड इन युएस लेखेको पेस्तोल, त्यसमा लाग्ने १ राउण्ड गोली, म्याग्जिन बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।