काठमाडौं– नेपाल प्रहरीको इतिहासमा पहिलोपटक जनपद समूहतर्फको अतिरिक्त महानिरीक्षक (एआईजी)मा महिला नियुक्त भएकी छन्। पूजा सिंह प्रहरीको जनपदतर्फ पहिलो एआईजी भएकी हुन्।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजीबाट एआईजीमा बढुवा सिफारिस भएका ५ जनालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ। डीआईजीबाट एआईजीमा बढुवा हुनेमा पूजा सिंह पनि छन्।
यसअघि बढुवा सिफारिस समितिको बैठकले प्रहरी पूजा सिंहसँगै ५ जनालाई एआईजीमा बढुवा लागि सिफारिस गरेको थियो। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिको सिफारिस सदर गरेको हो।
यसअघि पार्वती थापा पहिलो महिला एआईजी बन्ने देखिए पनि सरकारले उनको बढुवा रोकेको थियो। थापा सिनियर हुँदाहुँदै उनलाई छाडेर सरकारले उपेन्द्रकान्त अर्याललाई एआईजी बनाउँदै पछि आईजी बनाएको थियो।
सिनियर हुँदा पनि एआईजी बढुवामा छुटाएको भन्दै त्यसबेला थापा सर्वोच्चमा पुगेकी थिइन्। उनको सेवा अवधि नसकिउन्जेलसम्म सर्वोच्चले मुद्दाको फैसला गरेन। सेवा अवधि सकिएपछि सेवा सकिएको कारण देखाउँदै फैसला गरिरहनु पर्ने आवश्यक नरहेको सर्वोच्चले उल्लेख गरेको थियो।
नेपाल प्रहरीमा प्राविधिक समूहतर्फ भने यसअघि नै महिला एआईजी भइसकेका छन्। प्रहरी अस्पतालमा कार्यरत डाक्टर आशा सिंह पनि महिला हुन्।
सिंह मधेसी महिलाको रुपमा नेपाल प्रहरीको डीआईजी बन्ने पहिलो अधिकृत पनि हुन्। प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेकी सिंह प्रजातन्त्र सेनानी केदारप्रसाद सिंहकी आफन्तसमेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।