काठमाडौं- बाँकेको खजुरामा एक किशोरी प्रेमीको जन्म दिन मनाउन जाँदा सामूहिक बलात्कारको शिकार भएकी छन्। एक वर्षदेखि फेसबुकमा कुराकानी गरिरहेका हेमराज थारुले आफ्नो जन्मदिन मनाउनका लागि बोलाएर साथीहरुसँग मिलेर किशोरीको सामूहिक बलात्कार गरेका हुन्।
बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमध्ये पाँच जना बलात्कारमा संलग्न र दुईजना मतियार रहेको प्रहरीले जनाएको छ।
एक वर्ष देखिको चिनजान भएका साथीले जन्मदिन भनेर बोलाएपछि किशोरी बाँके र बर्दिया जिल्लाको सिमानामा पर्ने मानखोलाको जंगलमा पुगेकी थिइन्। तर, विश्वास गरेका उनै प्रेमीले घरेलु मदिरा खुवाएर आफ्ना साथीहरुसहित सामूहिक बलात्कार गरेका छन्।
गत जेठ २२ गते बिहान ४ बजे बाँकेको खजुरा गाँउपालिक वडा नं.५ प्रतिक्षालय चोकमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सामूहिक बलात्कार गर्ने युवाहरुलाई पक्राउ गरेको छ। ३ जना सवार मोटर साइलकमा शंका लागेपछि प्रहरीले रोकी चेकजाँच गर्दा उनीहरु पक्राउ परेका थिए। पीडित लठ्ठीएको जस्तो देखि शंका लागेपछि तीनै जनालाई इलाका प्रहरी कार्यालय धनौलीमा लगिएको थियो। प्रहरी कार्यालयमा अनुसन्धान गर्दा सामूहिक बलात्कारबारे खुलेको थियो।
पीडितले आफूलाई १ वर्षदेखि फेसबुकमा चिनजान भएका थारुले जन्मदिन छ भनि जेठ २१ गते बेलुका ४ बजे खजुरा गाँउपालिका वडा नं ६ मानखोला नजिक बोलाइ त्यहाँबाट साथीसमेत मोटरसाइकलमा राखि बर्दियाको मानखोला नजिकैको जंगलमा लगेको बयान प्रहरीलाई दिएकी छन्। उक्त जंगलमा अन्य ४/५ जनाको समूहले घरेलु मदिरा सेवन गरेका थिए।
उनीहरुले आफूलाई पनि मदिरा सेवन गराई सोही दिन साँझ ६ बजेदेखि राति १२ बजेसम्म भोज चलेको र त्यसक्रममा सामूहिक बलात्कार भएको उनले बताएको प्रहरीले जानकारी दिएको छ। बलात्कारपछि बेहोस भएकी उनी होसमा आएपछि अन्यत्रै लगिएको थियो।
होस आएपछि बाँके बैजनाथ गाउँपालिका वडा नं ८ पिपरी भन्ने स्थानमा बिक्रम भन्ने बिक्रान्त थारुको बँगुर पालन नजिकको टिनको टहरामा लगेर फेरि दुईजनाले सामूहिक बलात्कार गरेको उनले प्रहरसँगको बयानमा बताएकी छन्।
दोस्रो पटक सामूहिक बलात्कारको शिकार भएपछि बिक्रान्त थारुसहित अन्य २ जना मानिसहरु बोलाइ थारुको मोटरसाइकलको बीचमा राखि घर पुर्याउन लैजाँदै गर्दा प्रहरीले फेला पारेको उनले बयानमा भनेकी छन्।
पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका– ८ का हेमराज थारु, विक्रान्त थारु, निराजन थारु, प्रविण थारु र राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारु रहेका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।