काठमाडौं– ३७ लाख रुपैयाँ नगदसहित काठमाडौंमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति हुण्डी कारोबारी भएको प्रहरीको भनाइ छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बाराको पचरौता नगरपालिका–७ घर भएका ५४ वर्षीय जयकमल साह कलवारलाई पक्राउ गरेको हो। कलवारलाई कालिमाटीको टंकेश्वरबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।
हुण्डी कारोबार गर्ने गरेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले हुण्डीका लागि तयार पारेर राखिएको ३७ लाख रकम समेत बरामद गरेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले बताए।
१७ लाख ६६ हजार ३ सय नेपाली र १२ लाख ८ हजार ७ सय भारु गरी ३७ लाख २२० रुपैयाँ बरामद भएको छ। पक्राउ परेका कलवारलाई थप अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको छ।
कलवारले भारु र नेपाली रुपैयाँ सटहीको कारोबार समेत गर्ने गरेको प्रहरीले जनाएको छ। कलवारले तल्लो तलमा सटर भाडा लिएर पसल सञ्चालन गरेजस्तो गर्ने र माछिल्लो तलामा हुण्डीको कारोबार गर्ने गरेको एक अनुसन्धान अधिकृतले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।