काठमाडौं– रुपन्देहीको रोहिणी नदीमा भएको यात्रुबस दुर्घटनामा मृत्यु भएका ९ जनामध्ये ६ जनाको सनाखत भएको छ।
रूपन्देहीका प्रहरी प्रमुख, एसपी रविन्द्र रेग्मीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा रुपन्देहीको बुटवलस्थित योगिकुटीका ५६ वर्षीय बिष्णु पौडेल, बुटवल–११, कालिकानगरका कृष्णप्रसाद बस्याल, ओमसतिया गाउँपालिका–४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डे, रौतहटका २० वर्षीय दिनेश दास र भारत जनकपुरग्राम बस्ने ४० वर्षीय अरबिन्द्र शर्माको पहिचान भएको हो। अन्यको पहिचान हुन बाँकी छ।
जनकपुरबाट भैरहवाका लागि छुटेको लु २ ख ३८४१ नम्बरको यात्रुबस आइतबार बिहान ४:४५ बजेतिर दुर्घटना हुँदा थप २४ जना घाइते भएका छन्। घाइतेहरूको भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ।
घाइतेमध्ये १५ जनाको अवस्था चिन्ताजनक रहेको र ९ जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी नवरत्न पौडेलले नेपाल लाइभलाई जनाए। लुम्बिनी प्रदेश प्रहरी प्रमुख, डीआईजी नलप्रसाद उपाध्यायले प्रारम्भिक अनुसन्धानमा बसका चालक निदाउँदा दुर्घटना भएकोजस्तो देखिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।