डडेलधुरा– अछामका एक युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा युवा संघ अछामका पूर्वअध्यक्ष पक्राउ परेका छन्।
काठमाडौंको मध्यबानेश्वरमा गत फागुन २६ मा युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले युवा संघ अछामका पूर्वअध्यक्ष कपिल भण्डारीलाई पक्राउ गरेको हो।
उनले मंगलसेन नगरपालिका–३ घर भई मैतीदेवी बस्ने ३१ वर्षीय कमनसिंह बोगटीलाई खुकुरी प्रहार गरेका प्रहरीले जनाएको छ। भण्डारीलाई धरानबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरले जानकारी दिए।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएका बोगटीको शरीरमा ४४ ओटा टाँका लगाइएको थियो। बोगटी नेकपा एमाले निकट युवा संघमा आवद्ध रहेका बताइएको छ।
खुकुरी प्रहारमा भण्डारीको संलग्नता खुलेसँगै वैशाख १९ गते राष्ट्रिय युवा संघका संयोजक किरण पौडेलले उनलाई संगठनको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको पार्टी कमिटीलाई जानकारी गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।