काठमाडौं– भारतीय गायक तथा कांग्रेस आईका नेता सिद्धु मुसेवाला हत्याको अनुसन्धानमा दिल्ली प्रहरीको एक विशेष टोली काठमाडौं आएको पाइएको छ। मुसेवालाका हत्यारा भागेर नेपाल प्रवेश गरेको हुनसक्ने विश्लेषण गर्दै दिल्ली प्रहरीको विशेष टोली ३ दिन अगाडि काठमाडौं आएको हो।
दिल्ली प्रहरीको विशेष टोली काठमाडौं आएको भन्दै भारतीय सञ्चारमाध्यमहरुले समाचार लेखेका छन्। नेपाल प्रहरी स्रोतले समेत दिल्ली प्रहरीको एक टोली काठमाडौं आएको पुष्टि गरेको छ। प्रहरी प्रधानकार्यालयको उच्च स्रोतका अनुसार केही दिनअघि मात्रै दिल्ली प्रहरीको एक टोली काठमाडौं आएको थियो। उक्त टोलीले मुसेवाला हत्यामा संलग्नहरु फरार भएर नेपाल आएको हुनसक्ने भन्दै उनीहरुको पहिचान तथा पक्राउका लागि नेपाल प्रहरीसँग सहयोग समेत मागेको छ।
प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले नेपाल लाइभसँग कुरा गर्दै भने, ‘मुसेवाला हत्यामा संलग्नको खोजीका लागि उक्त टोली आएको हो। हामीसँग सहयोग माग भएको छ। हत्यारा नेपाल प्रवेश गरेका हुन्/होइनन् यकिन भने भएको छैन।’
गत आइतबार साँझ पन्जाबी गायक तथा कांग्रेस आईका नेता मुसेवालाको पन्जाबको मनासा जिल्लास्थित जवाहरेक गाउँमा गोली हानी हत्या भएको थियो। २८ वर्षे मुसेवालालाई ३० राउण्ड गोली हानेर हत्या गरिएको खुलेको थियो। गोली प्रहारबाट घाइते भएका मुसेवालाई अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका थिए।
गत डिसेम्बरदेखि राजनीतिमा सक्रिय भएका मुसेवाला मानसा निर्वाचन क्षेत्रबाट विधानसभामा कांग्रेस आईको उम्मेदवारका रुपमा चुनाव लडेका थिए। तर, उनी आम आदमी पार्टीका उम्मेदवारसँग पराजित भए।
मुसेवालाको हत्याको जिम्मा लरेन्स बिश्नोई ग्याङस्टरले लिएको थियो। यो समूहका ग्याङस्टर लक्ली अर्थात गोल्डी बराडले हत्याको जिम्मा लिएका थिए।
आइतबार करिब ५ः३० बजे मुसेवालामाथि आक्रमण भएको थियो। मुसेवालासँग ४ जना सुरक्षा गार्ड थिए, जसमध्ये २ जनालाई घल्लुघारा दिवसका कारण फिर्ता बोलाइएको थियो।
मुसेवाला त्यसदिन सुरक्षाकर्मी र बुलेटप्रुफ गाडीबिना आफ्ना दुई साथीसहित घरबाट बिहान साढे ४ बजे निस्किएका थिए। मुसेवालाको हत्यामा ९ एमएम र ४ एमएमको गोली प्रयोग भएको प्रहरीले जनाएको छ।
मूसेवाला हत्या प्रकरणमा प्रहरीले हरियाणाका दुई युवालाई पक्राउ समेत गरिसकेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरुलाई फतेहाबाद जिल्लाबाट पक्राउ गरिएको हो। पक्राउ पर्नेमा पवन बिश्नोई र नसीब खान रहेका छन्। दुवै मुसेवाला हत्या प्रकरणमा संलग्न भएको भारतीय प्रहरी अधिकारीले बताएका छन्। मुसेवालाको हत्यामा प्रयोग भएको बोलेरो गाडीसँग उनको सम्बन्ध रहेको बताइएको छ।
यसबाहेक प्रहरीले गुण्डा नाइके लरेन्सलाई तिहाड जेलबाट प्रोडक्सन वारेन्टमा ल्याएर मुसेवाला हत्यामा सोधपुछ गरेको छ। भारतीय सञ्चार माध्यमका अनुसार लरेन्सले मुसेवालाको हत्या आफ्नो गिरोहका सदस्यले गरेको स्वीकार गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।