काठमाडौं– नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेका कलाकार पूर्णविक्रम शाह (पल शाह)को मुद्दा नटुंगिदै थुनामुक्त हुने चाहनामा तत्कालका लागि विराम लागेको छ। जबरजस्ती करणीको मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत तनहुँ र नवलपुरकको आदेशविरुद्ध उच्च अदालत पोखरा पुगेका शाहले फेरि थुनामै बस्नुपर्ने भएको छ।
शाहको निवेदनमा माग गरिएअनुसार धरौटी वा साधारण तारेखमा रिहा नगरेर उच्च अदालत पोखराले पुर्पक्षका लागि थुनामा पठाउने दुवै जिल्ला अदालतको थुनछेक आदेशलाई सदर गरिदिएको छ। उच्च अदालत पोखराका न्यायाधीशद्वय उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको बिहीबारको इजलासले शाहलाई थुनामा पठाउने दुई जिल्ला अदालतको आदेश बेरितको नदेखिएको भन्दै परिवर्तन गर्नु नपर्ने ठहर गरिदियो।
पीडित होस्टाइल हुँदा पनि पल कमजोर!
आफ्नी नाबालिग छोरीमाथि शाहले पटक–पटक बलात्कार गरेको भन्दै गायिकाका बुवाले सुरुमा जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए। जबरजस्ती करणीको आरोपसहित आफूविरुद्ध जाहेरी परेपछि शाहले गत फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए।
शाहले नाबालिक गायिकामाथि गैँडाकोटको एक होटलमा पनि बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैँडाकोट नवलपरासी पूर्व (नवलपुर)मा पनि उनीविरुद्ध जाहेरी परेको थियो।
दुवै जाहेरीमाथि अनुसन्धानको क्रममा पीडित बालिकाले शाहले आफूमाथि पटक पटक माया/प्रेमको नाटक गरेर जबरजस्ती करणी गरेको बयान दिएकी थिइन्। पीडितको बयानसँगै पलले दिएको बयानमा पनि घटना भएको संकेत मिलेको भन्दै प्रहरीले अनुसन्धान प्रतिवेदन तयार गरेको थियो।
तर, जिल्ला अदालत तनहुँमा बकपत्र गराउँदा पीडित भनिएकी किशोरी र उजुरीकर्ता (किशोरीका बुवा)ले बयान फेरे। आफूहरुले अरुको वहकाउमा लागी, आक्रोशमा आएर जाहेरी तथा बयान दिएको भन्दै अदालतमा बकपत्र गरे।
पीडित पक्षले जिल्ला अदालतमा बयान फेर्नु अगाडि नै पल दुवै जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरा पुगेका थिए। पलको निवेदन उच्च अदालतमा विचाराधीन रहँदा पीडित पक्षले जिल्ला अदालतमा बयान फेरेको थियो। तर, पीडितले बयान फेरे पनि अदालतले पलको पक्षमा बलियो प्रमाण देखेन।
उच्च अदालत पोखराले शाहसहित पीडित पक्ष र घटनासँग जोडिएका अन्य व्यक्तिको बयानलाई समेत आधार मानेर जिल्ला अदालतको आदेश परिवर्तन गर्न जरुरी नभएको ठहर गरेको हो।
उच्चको यो आदेशपछि तत्काल थुनामुक्त हुने शाहको आशा सकिएको छ। यद्यपि उनी रिहाइको दाबी गर्दै सर्वोच्च अदालतसम्म पनि पुग्न सक्छन्। जिल्ला र उच्च अदालतको आदेशविरुद्ध शाह पक्ष सर्वोच्चमा निवेदन लिएर आउन पाउँछ। सर्वोच्च अदालतमा निवेदन नपरेको अवस्थामा भने जिल्लाले शाह विरुद्धको मुद्दामा निरन्तर सुनुवाइ प्रक्रिया अगाडि बढाउने छ।
‘पीडितले बताए अनुसार चिकित्सकले उल्लेख गरेको विवरण, प्रतिवादीले मौकामा वयान गर्दा प्रदीप थापाको घरमा सुन्ने क्रममा राति ११ः४५ बजे पीडितलाई म्यासेज गरी पीडित सुत्ने कोठामा गई भित्र पसी निजलाई बियर खान दिएको भनी खुलाएको मौकाको बयान देखियो,’ उच्च अदालतको आदेशमा भनिएको छ, ‘प्रतिवादीले पेस भएको अडियो रेकर्डमा भएको केही शब्दहरु आफ्नो भएको भनी स्वीकार गरी अदालतमा गरेको बयान, २१ दिन सम्म पीडितसँग बसेकी दूर्गा अधिकारीले पटक–पटक पीडितले आफूलाई जबरजस्ती करणी गरेको भनी बताएको भनी गरिदिएको घटना विवरण कागज हेर्दा उनी निर्दोष भन्नसक्ने देखिएन।’
नाबालिग गायिकामाथि बलात्कार घटनामा मतियारको भूमिका खेलेको आरोप लागेका कृष्ण जोशी भनिने कृष्ण प्रसाद जोशीले बयान गर्दा शाहले माया–प्रेम गरेको विश्वासमा पारी पटक–पटक जबरजस्ती करणी गरेको कारण म पीडामा छु भनेर बयान गरेको कुरालाई उच्चले थुनामा पठाउने आधार बनाएको छ।
निरन्तर सुनुवाई गर्न उच्चको आदेश
उच्च अदालत पोखराले यो मुद्दामा निरन्तर सुनुवाइ गरी किनारा लगाउन दुवै जिल्ला अदालतलाई आदेश गरेको छ। 'निरन्तर सुनुवाइमा राखी हेर्नुपर्ने प्रकृतिको प्रस्तुत मुद्दामा प्रतिवादीहरुका तर्फबाट उपस्थित विद्वान कानुन व्यवसायीले बहसको क्रममा अदालतमा भएको पीडित र जाहेरवाला समेतको बकपत्रको प्रतिलिपि पेस गरेको देखिएको...। अब अन्य बुझ्नुपर्ने प्रमाणहरु भए अविलम्ब बुझि निरन्तर सुनुवाइको प्रक्रिया अवलम्बन गरी यथाशिघ्र फैसला गर्नुहोला,’ उच्चको आदेशमा भनिएको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।