काठमाडौं– नेपाल प्रहरीले लागुऔषध खैरो र सेतो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना७ख २०१७ नम्बरको यात्रुवाहक बसमा खैरो र सेतो हेरोइन ल्याउँदै गरेको अवस्थामा भारत विहारका २० वर्षीय दीपेन्द्रकुमार भगतलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी दिनेशराज मैनालीले सार्वजनिक बसमा झोलाभित्र लुकाएर ल्याएको अवस्थामा खैरो र सेतो हेरोइनसहित भगतलाई पक्राउ गरिएको जानकारी दिए।
प्रहरीले भगतसँग खैरो हेरोइन १०३ ग्राम र सेतो हेरोइन चार ग्राम बरामद गरेको छ। पक्राउ परेका भगतलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार काठमाडौं जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको एसपी मैनालीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।