काठमाडौं– फ्राई गरेको माछाभित्र राखेर लागुऔषध ब्राउन सुगर कारागारभित्र पुर्याइएको तत्थ सार्वजनिक भएको छ। माछाभित्र लागुऔषध राखेर कारागार पुर्याएको आरोपमा दुई जना पक्राउ परेका छन्।
घटना गत ९ गतेको हो । पर्साको वीरगञ्ज उपमहानगरपालिका–३२ का कमरुलहक अन्सारी जबरस्ती करणी र बालविवाह मुद्दामा सिन्धुली कारागारमा कैद भुक्तान गरिरहेका छन्।
उनीसँगै लागुऔषध मुद्दामा पुर्पक्षमा रहेका छन् पर्वतको फलेवास नगरपालिका–५ का अभिनास सुवेदी भनिने आविस्कार सुवेदी।
उनीहरूले जेठ ९ गते कारागारका चालक दिपराज श्रेष्ठलाई साढे २ बजे फोन गरेर बर्दिवासबाट माछा आउँदैछ लिएर आउनु भनेका थिए।
उनीहरुले फोन गरेर भनेपछि चालकले सिन्धुली बसपार्कमा गएर उक्त माछा रिसिभ गरेर कारागार पुर्याए।
प्रहरीलाई संका लागेर भोलिपल्ट १० गते उक्त माछाको पेट चिरेर हेर्दा भित्र लागुऔषध ब्राउन सुगर भेटिएको थियो। माछोको पेटभित्र २ वटा प्लाष्टिकले बेरेर ५.१२ ग्राम ब्राउन सुगर प्याक गरिएको पाइएको थियो।
यसरी कारागारभित्रै लागुऔषध छिराएको पाइएपछि दुई जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ। पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।