काठमाडौं– सरकारले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको विदेश भ्रमण स्वीकृत गरेसँगै उनको भ्रमण कार्यतालिका तय गरिएको छ।
सैनिक जनसम्पर्क निर्देशनालय जंगी अड्डाले एक विज्ञप्ति जारी गर्दै प्रधानसेनापति भ्रमणका बारेमा जानकारी गराएको हो। प्रधानसेनापति शर्माले असार ४ गतेदेखि १० गतेसम्म संयुक्त राष्ट्रको संघको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ लेबनानस्थित मिसन र सिरियास्थित मिसनको निरीक्षण भ्रमण गर्ने कार्यक्रम रहेको छ।
उनले उक्त मिसनको वस्तुस्थित, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्था लगायत अन्य विविध पक्षहरुका बारेमा जानकारी लिनेछन्। त्यसक्रममा उक्त राष्ट्र तथा शान्ति मिसनका उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ।
लेबनान र सिरियाको भ्रमणपश्चात प्रधानसेनापति शर्माले संयुक्त राज्य अमेरिकाको औपचारिक निमन्त्रणामा असार १३ गतेदेखि १७ गतेसम्म भ्रमण गर्ने कार्यक्रम रहेको छ।
उच्चस्तरीय सैनिक नेतृत्वबाट नियमित रुपमा हुने गरेको भ्रमण, विगत लामो समयदेखि स्थापित नेपाली सेना र अमेरिकी सेनालगायत दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध एवं विद्यमान द्विपक्षीय सहयोग तथा सहकार्यको क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन महत्त्वपूर्ण सावित हुने विश्वास नेपाली सेनाले लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।