काठमाडौं– माओवादीको तत्कालीन 'जनमुक्ति सेना'का कमाण्डर झलककुमार भगत जेलमुक्त भएका छन्। गणतन्त्र दिवसको अवसरमा बाँकी कैद मिनाहा भएपछि भगत रिहा भएका हुन्।
गणतन्त्रको दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८३४ कैदीबन्दीहरुको कैद मिनाहा गरेकी हुन्। जसमध्ये भगत पनि कैद मिनाहा भएर जेठ १५ गते जेलबाट रिहा भएका हुन्।
रिहा भएलगत्तै भगतले माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डलाई समेत भेटेका छन्। प्रचण्ड निवास खुमलटार पुगेर उनले प्रचण्डलाई भेटेका हुन्।
तत्कालीन अवस्थामा नेपाली सेनामा रहेका बेला भगत सेनाको हतियारसहित भागेर माओवादी जनमुक्ति सेनामा आबद्ध भएका थिए।
माओवादी पार्टी फुटेपछि उनी पछिल्लो समय विप्लव नेकपामा आबद्ध थिए। २०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव ताका सुरक्षा थ्रेट भएको भन्दै उनलाई मोरङ प्रहरीले पक्राउ परेको थियो।
उनी पक्राउको जानकारी सेनाले पाएपछि झलकलाई बुझाउन भन्दै सेनाले प्रहरीलाई पत्राचार गरेपछि प्रहरीले सेनाको जिम्मा लगाएको थियो। हतियारसहित भागेर 'सत्रु'लाई सहयोग आरोपमा सैनिक अदालतले उनलाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्म कैदको फैसला सुनाएको थियो।
झलकले सैनिक अदालतको फैसलाविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए। तर, सर्वोच्चले पनि सैनिक अदालतकै फैसला सदर गरेको थियो। त्यसपछि भीमफेदी कारागारमा पुर्याइएका उनी यही जेठ १५ गते रिहा भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।